धनगढी – कैलालीका तिन पालिकामा प्लास्टिकजन्य फुल मालामा प्रतिवन्ध लगाएको भएपनि प्रभावकारी कार्यान्वयनमा चुनौती देखिएको छ । जिल्लाको धनगढी उपमहानगरपालिका, गोदावरी नगरपालिका र बर्दगोरिया गाउँपालिकामा प्लास्टिकजन्य फुल मालामा प्रतिवन्ध लगाइएको भएपनि प्रभावकारी कार्यान्वयन हुन सकेको छैन । नेपालीहरुले किनमेल गर्ने भारतीय बजारमा खुलेआम प्लास्टिकजन्य माला, फुल बिक्री गरिने भएकाले पनि प्रतिवन्ध कार्यान्वयमा चुनौती देखिएको छ ।
धनगढी उपमहानगरपालिकाले यसै आर्थिक वर्षमा प्लास्टिकजन्य वस्तु बिक्री र प्रयोग गरेको भेटिएकोले जरिवानामार्फत १ लाख ७० हजार रुपैयाँ राजस्व असुल गरिएको जनाएको छ । अनुगमनको क्रममा कतिपय प्लास्टिकका फूलको व्यापार गरिरहेको भेटिएर जफत गरी जरिवाना गरिएको उपमहानगरका सरसफाइ तथा फोहोरमैला व्यवस्थापन शाखाका प्रमुख अशोक अवस्थीले बताए । धनगढीभित्र प्लास्टिकका कुनै किसिमको कारोबार गरेको पाइएमा नगर प्रहरी खटाएर जफत गरी जरिवाना तिराउने गरेको उनले बताए । यस्तै उता बर्दगोरिया गाउँपालिकाकाले पनी प्लास्टिकको फूलमालाले वातावरणमा समेत प्रतिकुल असर पार्ने भएकोले उत्पादन तथा प्रयोग नगर्न आग्रह गरेको छ ।
प्रमुख प्रशासकीय अधिकृत अर्जुनसिंह कार्कीले प्लास्टिक जन्य उत्पादन तथा प्रयोग नगर्न, नगराउन सूचना जारी गरिएको र कृत्रिम माला बिक्री वितरण गरेको पाइएमा कानुन बमोजिम कारबाही गर्ने उनले बताए।कैलाली जिल्ला भन्सार कार्यालयका अनुसार आर्थिक वर्ष २०७६/०७७ को साउनदेखि कात्तिकसम्म ६४ हजार ४२० रुपैयाँको १०७ क्विन्टल प्लास्टिक फूल आएको भएको थियो । आर्थिक वर्ष २०७७/०७८ मा १४ गुणा बढी भारतबाट आयात भएकोमा तिहारसम्म छ लाख ६२ हजार १८३ रुपैयाँको एक हजार ५७५ क्विन्टल कृत्रिम माला भित्रिएको थियो ।
त्यसपछि नेपालमा ४० माइक्रो एमएम भन्दा कमको प्लास्टिक आयात बन्देज लागेको कैलाली जिल्ला भन्सार कार्यालयका सूचना अधिकारी पवित्रकुमार खड्काले बताए । उद्योगहरूले प्रयोग गर्ने -यापरको रोल, प्लास्टिक फर्निचर र भाँडालगायत सामानबाहेक प्लास्टिक ब्यागलगायत ४० माइक्रो एमएम भन्दा कमका प्लास्टिक आयात वातावरणीय सुरक्षाका लागि प्रतिबन्धित र प्लास्टिकको फूल पनि ल्याउन बन्देज लगाइएको बताए । प्लास्टिकका फूल आयात र बिक्रीमा प्रतिबन्ध लगाइएको भए पनि बजारमा भने चोरी पैठारी गरी त्यस्ता सामग्री बिक्री भइरहेकै छन् ।
‘उद्योगहरूले प्रयोग गर्ने ¥यापरको रोल, प्लास्टिक फर्निचर र भाँडालगायत सामानबाहेक प्लास्टिक ब्यागलगायत ४० माइक्रो एमएम भन्दा कमका प्लास्टिक आयात वातावरणीय सुरक्षाका लागि प्रतिबन्धित छ’ कैलाली जिल्ला भन्सार कार्यालयका सूचना अधिकारी पवित्रकुमार खड्काले भने, ‘प्लास्टिकको फूल पनि ल्याउन बन्देज छ ।’
धनगढीको सरसफाइ शाखा प्रमुख अवस्थीले अनुगमनको क्रममा कतिपय प्लास्टिकका फूलको व्यापार गरिरहेको भेटिएर जफत गरी जरिवाना गरिएको बताए । तिहारमा भारतबाट प्लास्टिकको फूलमालासँगै दियो, बत्ती, मैनबत्ती, झिलमिले बत्तीलगायतका सामानको आयात बढ्ने गरेको छ । धेरैजसो स्थानीयले आफ्नो घरबारीमा सयपत्री, मखमलीलगायतका फूल रोप्ने गरेको भए पनि पर्याप्त उत्पादन नहुँदा धनगढीसहितका सहर बजारमा भारतबाट कृत्रिम फूलामाला आयात हुने गरेको छ ।
पछिल्लो समय जिल्लामा फूल खेती हुने गरे पनि बजार माग अनुसार उत्पादन हुने गरेको छैन । धनगढी उपमहानगरपालिकाले तिहारमा फूलको माग धान्नका लागि नगरभित्रका २६ जना किसानलाई तालिम दिएर फूलखेती गराउनुका साथै आफैँले पनि ११ कट्ठा जमिनमा फूलखेती गरेको छ ।
ती किसानलाई पहिलो पटक फूल खेती तालिम र दोस्रो पटक फूलको बजारीकरण तालिम दिएको उपमहानगरपालिकाका कृषि शाखा प्रमुख लोकराज उपाध्यायले बताए । उनले यसपालि ती किसानले गरेको फूलखेतीबाट २० टन फूल उत्पादन हुने अनुमान गरिएको बताए ।