अत्तरिया- धनगढीमा मदिरा चोरेको भन्दै कुटिएका युवकको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका-१६ का ३८ वर्षीय लालबहादुर थापाको मृत्यु भएको हो ।
प्रहरीका अनुसार मदिरा चोरीको आरोपमा उनलाई स्थानीय व्यापारी कृष्ण सेट्टीले बाँसको लाठी प्रहार गरेका थिए । ‘घटनास्थलमा गएर बुझ्दा त्यहाँका स्थानीयले थापालाई सेट्टीले बाँसको लाठीले हानेको देखेको बताए तर सेट्टीसँग बयान लिन बाँकी नै छ’, जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुलदीप चन्दले भने ।
अहिले आफू घटनास्थलबाट जिप्रका पुगेको र सेट्टीलाई पनि लम्कीबाट जिप्रका ल्याउन लागिएको उनले बताए । सोमवार दिउँसो भएको सो घटनापश्चात बेलुका बेहोस भेटिएका थापालाई स्थानीयले घरसम्म पुर्याएका थिए । थापाको राति नै मृत्यु भएको उनको पारिवारिक स्रोतलाई उद्धृत गर्दै प्रवक्ता चन्दले बताए ।
शवलाई पोस्टमार्टमका लागि सेती प्रादेशिक अस्पताल धनगढी ल्याइएको र घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए ।