टीकापुर – कैलालीको टीकापुर नगरपालिका–५ स्थित खेलकुद मैदानमा टीकापुर स्पोर्टस् एकाडेमी भवन निर्माण हुने भएको छ । सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले सुदूरपश्चिम स्तरीय स्पोर्ट्स एकाडेमी भवन निर्माण गर्ने भएको हो । आगामी तीन वर्षभित्र सम्पन्न गर्ने गरी ९ करोड ९० लाख १ हजार ४ सय ४९ रुपैयाँको लागतमा बी.एण्ड पी.,पूर्वपश्चिम र तल्जु जेभी निर्माण कम्पनीले एकेडेमीको भवन निर्माण गर्न लागेका हुन् ।

निर्माण सुरू गरिएको एकेडेमी सञ्चालन पश्चात् सुदूरपश्चिम प्रदेशबाट विभिन्न खेलका खेलाडी उत्पादन गर्ने उद्देश्य रहेको सामाजिक विकास मन्त्री झपटबहादुर साउँदले बताए ।

भवनको शिलान्यास गर्दै मन्त्री साउँदले सुदूरपश्चिमको खेलकुद विकासमा एकाडेमीले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउँदै समयभन्दा अगावै निर्माण सम्पन्न गर्न आग्रह गरे । ‘एकाडेमीका माध्यमबाट सुदूरपश्चिममा विभिन्न खेलका खेलाडी उत्पादन गर्ने लक्ष्यले भवन निर्माण सुरु गरेका छौं,’ मन्त्री साउँदले भने, ‘जतिसक्यो चाँडो निर्माण सम्पन्न भएलगत्तै एकेडेमीको सुरुवात गरिनेछ,त्यसकारण समय अगावै निर्माण सम्पन्न गर्न आग्रह गर्दछु ।’
विगत लामो समयदेखि राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा खेलाडि उत्पादन गर्दै आएको टीकापुर क्षेत्रमा एकेडेमीको भवन निर्माण हुनु निकै खुशीको विषय भएको टीकापुर नगर प्रमुख रामलाल डगौरा थारुले बताए । टीकापुरमा रहेको टीकापुर नगर खेलकुद विकास समितिका नाममा रहेको २२ विघा जमिनमा उक्त भवन निर्माण सुरू गरिएको हो ।