टीकापुरमा लागुऔषध नियन्त्रण गर्ने प्रतिवद्धता

टीकापुर – कैलालीको टीकापुरमा लागुऔषध दुर्व्यसन नियन्त्रण गर्न दुई प्रतिबद्धता जनाइएको छ । लागुऔषधका क्रममा पक्राउ परेका व्यक्तिलाई छुटाउन कुनै पनि राजनीतिक दलका नेताले दबाब नदिने प्रतिबद्धता गरेका छन् । प्रहरीले लागुऔषधका बारेमा निष्पक्ष भएर छानविन गर्नुपर्ने र त्यसका लागि सबैले सहयोग गर्नुपर्ने प्रतिबद्धता पनि कार्यक्रममा गरिएको छ । टीकापुरमा संवाद समूहले गरेको छलफलमा यस्तो प्रतिबद्धता राजनीतिक दल, प्रहरी प्रमुख र सरोकारवालाले गरेका हुन् । टीकापुर क्षेत्रमा लागुऔषधको कारोबार बढेपछि संवाद समूहले सरोकारवाला पक्षसँग छलफल चलाएको हो ।

maya metro hospital

छलफलमा इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख प्रहरी नायब उपरीक्षक विश्वराज अधिकारीले लागुऔषध दुर्व्यसन न्यूनीकरणका लागि योजना बनाएर अगाडि बढ्ने बताए । ‘हामी कडारूपमा काम गर्छौँ, समुदायले पनि हामीलाई सूचना दिएर सघाउनुपर्छ’, उनले भने, ‘समाजमा शान्ति स्थापनाका लागि लागुऔषध नियन्त्रण पहिलो प्राथमिकतामा राखेर काम गर्छौँ ।’

joshi vada pasal 2

पूर्ण दुर्व्यसनी दीपकजङ्ग शाहले १९ वर्षसम्म आफू लागूऔषध दुर्व्यसनमा फसेर भागेको भोगाइ सुनाउँदै न्यूनीकरण गर्न सबैको सक्रियता आवश्यक रहेको बताए । ‘दुर्व्यसनमा फसेर, सुध्रिएको मलाई दुर्व्यसन नियन्त्रणमा सबैको भूमिका हुन्छ भन्ने लाग्छ’, उनी भन्छन्, ‘छलफल चलाउने मात्र नभई सबै जना जिम्मेवारीका साथ लाग्नुपर्छ, एक युवा, त्यसको परिवार, समाज र देशको भविष्य जोगाउनुछ ।’

नयाँ बिहानी पुनःस्थापना केन्द्रका सञ्चालक कल्पेश कुँवरले प्रयोगकर्तालाई भन्दा ओसारपसार गर्नेलाई कडाइ गर्नुपर्ने बताए । ‘हामीले प्रहरीमा सूचना दिए पनि कार्यान्वयन नभएको महसुस गरेका छौँ’, उनी भन्छन्, ‘लागुऔषध दुर्व्यसनमा फसेकालाई परामर्श दिनुपर्ने आवश्यकता छ, एकैपटक उसलाई समाजमा पुनःस्थापना हुन कठिन छ ।’

लागुऔषध प्रयोग तथा ओसारपसारमा प्रहरीले कडाइ गरेपछि कैलाली प्रहरीमा दैनिक एकभन्दा बढी लागुऔषधका मुद्दा दर्ता हुने गरेका छन् । जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कानुसार ६३ दिनमा ७३ मुद्दा दर्ता भएका छन् । लागुऔषधमा संलग्न एक सय आठ प्रतिवादी पक्राउ परेका छन् ।

प्रहरीले गएको साउन १ देखि भदौ ३१ गतेसम्म दुई महिनाको अवधि अर्थात् ६३ दिनमा ७३ लागुऔषधका मुद्दा दर्ता गरेको जानकारी दिएको छ । साउनमा ४६ र भदौमा २७ मुद्दा दर्ता भएका छन् । दुई महिनामा चलाएका ७३ मुद्दामा संलग्न रहेका एक सय आठ जना पक्राउ परेका छन् । लागुऔषधमा संलग्न रहेको आरोपमा जिल्लाका विभिन्न स्थानबाट एक सय पुरुष, आठ महिला पक्राउ परेका छन् ।

पक्राउ परेकाहरूको साथबाट साउनमा चार किलो चरेस र ५८ ग्राम छ सय ४५ मिलीग्राम ब्राउन सुगर बरामद भएको छ । भदौमा एक किलो तीन सय ग्राम चरेस, २३ ग्राम तीन सय शून्य सात मिलीग्राम ब्राउन सुगर बरामद भएको छ । दुई महिनाको अवधिमा पाँच किलो तीन सय ग्राम चरेस, ८१ ग्राम नौ सय ५२ मिलीग्राम खैरो हिरोइन बरामद भएको जिल्ला प्रहरी कार्यालय कैलालीका सहप्रवक्ता प्रहरी निरीक्षक लोकेन्द्रसिंह कार्कीले जानकारी दिए ।

कैलालीमा जिल्ला प्रहरी कार्यालय धनगढी, इलाका प्रहरी कार्यलय टीकापुर, लम्की, भजनी, सुख्खड र मालाखेतीले लागुऔषधमा मुद्दा चलाउँछ । दुई महिनाको अवधिमा इलाका प्रहरी कार्यालय टीकापुरले ११ लागुऔषधका मुद्दा दर्ता गरेको छ भने १६ प्रतिवादी पक्राउ गरेको छ । उन्नाइस ग्राम एक सय ९० मिलीग्राम लागुऔषध खैरो हिरोइन बरामद गरिएको छ ।

इलाका प्रहरी कार्यालय मालाखेतीले १९ मुद्दा दर्ता गरेको छ भने ३४ जना पक्राउ गरेको छ । त्यस क्रममा ३५ ग्राम एक सय शून्य एक मिलीग्राम खैरो हिरोइन बरामद गरेको छ । इप्रका भजनीले तीन मुद्दा दर्ता गरेको छ भने चार जना प्रतिवादी पक्राउ गरेको छ । सो क्रममा दुई ग्राम ५० मिलीग्राम खैरो हिरोइन बरामद गरिएको छ ।

इलाका प्रहरी कार्यालय लम्कीले दुई मुद्दा दर्ता गरेको छ भने चार प्रतिवादी पक्राउ गरेको छ । एक ग्राम चार सय ७० मिलीग्राम खैरो हिरोइन बरामद गरिएको छ । सुख्खडले एक मुद्दा दर्ता गरेको छ भने चार जना प्रतिवादी पक्राउ गरी एक किलो तीन सय ग्राम चरेस बरामद गरेको छ । प्रहरीको तथ्याङ्क जस्तै समाजमा पनि लागुऔषधको अवस्था भयावह देखिन थालेको नागरिकको बुझाइ छ ।

रासस

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.