धनगढी – नेपाल चिकित्सक संघ सुदूरपश्चिम प्रदेश समितिले धनगढीमा विरोध कार्यक्रम गरेको छ । चिकित्सकमाथि भइरहेको आक्रमण तथा कुटपिट विरुद्ध संघले विरोध कार्यक्रम गरेको हो ।

सेती प्रादेशिक अस्पतालदेखि सुरु भएको विरोध -याली मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हुँदै अस्पतालको प्राङ्गणमा पुगेर कोणसभामा परिणत भएको थियो । संघका सचिव डाक्टर कपिल भट्टले पछिल्लो समय चिकित्सकलाई काम गर्ने वातावरण नभएको बताए । काम गरिरहेको स्थानमा सरकारले चिकित्सकलाई सुरक्षित बनाउनुपर्ने उनीहरूकको माग छ ।

नेपाल चिकित्सक संघले लमजुङ अस्पताल र मणिपाल शिक्षण अस्पतालका चिकित्सकमाथि आक्रमण गर्नेहरुलाई तत्काल कारबाही गर्न माग गरेको छ । पोखराको मणिपाल शिक्षण अस्पतालमा बिरामीको मृत्यु भएपछि आफन्तले डाक्टरमाथि आक्रमण गरेका थिए । बिरामीको मृत्युको विषयलाई लिएर मणिपालका चिकित्सकमाथि आक्रमण भएको हो । लमजुङको सुन्दरबजार नगरपालिका–६ की ५७ वर्षीया सुकमाया दुराको उपचारको क्रममा मृत्यु भएको थियो ।
दुराको मृत्यु भएपछि आक्रोशित आफन्तले अस्पताल परिसरमा तोडफोडसमेत गरेका थिए । आइतबार जिल्ला अस्पताल लमजुङका डा सन्दीप अधिकारीमाथि कुटपिट भएको थियो । कुटपिटको आरोपमा ऋषि बस्नेतलाई पक्राउ गरेर प्रहरीले अनुसन्धान अघि बढाएको छ ।
यस्तै पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा चिकित्सकमाथि भएको आक्रमणमा संलग्न रहेको आरोपमा प्रहरीले १ जनालाई पक्राउ गरेको छ । चिकित्सकमाथि आक्रमणको आरोपमा कास्कीको पोखरा महानगरपालिका–५ मालेपाटन बस्ने ३४ वर्षीय बिनय गुरुङलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।