अत्तरिया – कैलालीको गोदावरी नगरपालिकामा अवैध नदीजन्य पदार्थको अवैध उत्खनन र ढुवानी रोकिन सकेको छैन् । नगरपालिकाले नदीजन्य पदार्थको अवैध उत्खनन, ढुवानी गर्नेलाई चर्को जरिवाना तोकेर जरिवाना तिराउँदा पनि नदीजन्य पदार्थको अवैध उत्खनन, ढुवानी रोकिएको छैन । नगरपालिकाले नदीजन्य पदार्थको अवैध उत्खनन, ढुवानी गरेको भेटिएमा ट्याक्टरलाई मात्रै ५० हजार जरिवाना तिराउँदै आएको छ । चर्को जरिवाना तिराएर नदीजन्य पदार्थको उत्खनन, ढुवानी रोकिने अपेक्षा गरिएपनि पुनः ५ वटा ट्याक्टर अवैध रुपमा ढुंगा, बालुवा नदीबाट उत्खनन र ढुवानी गरिरहेको अवस्थामा पक्राउ परेका छन ।

इलाका प्रहरी कार्यालय मालाखेतीको टोलीले मंगलबार गोदावरी नगरपालिका – ९ सेहरी र मुरकट्टी स्थित खुटिया खोलाबाट अवैध रुपमा ढुंगा, बालुवा उत्खनन र ढुवानी गरिरहेको अवस्थामा ५ ट्याक्टर नियन्त्रणमा लिएको हो । इलाका प्रहरी कार्यालय मालाखेतीका डीएसपी गणेश बरालले अवैध रुपमा ढुंगा, बालुवा उत्खनन र ढुवानी गरिरहेका ट्याक्टर नियन्त्रणमा लिएर गोदावरी नगरपालिकाको जिम्मा लगाएको बताए ।

उनका अनुसार भे १ त ६०२२, सु.प्र.प्र. ०१००२ त ५३१८, से १ त ७४९६, सु.प.प्र. ०१००२ त ५७६७ नम्बरको ट्याक्टर इन्जन र लु ५ त १३८७ नम्बरको ट्याक्टर ट्रली सहित बरामद गरिएको थियो । प्रहरीले नियन्त्रणमा लिएका ट्याक्टरलाई नगरपालिकाले प्रति ट्याक्टर ५० हजारका दरले जरिवाना तिराएर छोडेको छ । नगरपालिकाका जिन्सी शाखा प्रमुख गणेश पनेरुले ५ ट्याक्टरलाई अढाइ लाख जरिवाना तिराएर छोडिएको बताए । नगरपालिकाले यसअघि पनि अवैध रुपमा नदीजन्य पदार्थ ढुवानी गरिरहेका ३ वटा ट्याक्टरलाई ५० हजारका दरले डेढ लाख जरिवाना तिराएर छोडेको थियो ।
नगरपालिकामा नदीजन्य पदार्थको अवैध उत्खनन, ढुवानी रोक्नको लागि चर्को जरिवाना तिराउने गरेको भएपनि नियन्त्रणमा भने आउन सकेको छैन । गोदावरी नगरपालिकाको ९५ औं कार्यपालिका बैठकले नियम मिचेर नदीजन्य पदार्थ उत्खनन वा ढुवानी गरेमा ५० हजार देखि १ लाख सम्म जरिवाना गर्ने निर्णय गरेको थियो । जसअनुसार ट्याक्टरलाई ५० हजार, टिप्परलाई ७० हजार र जेस्काइभेटर/भ्याकुलोडर/विसिलाई १ लाख जरिवाना तोकिएको छ । नगरपालिकाले असोज १ गते देखि नदीजन्य पदार्थको रोयल्टी तिरेर उत्खनन र ढुवानी गर्न पाइने भएपनि रोयल्टी सङ्कलनका लागि ठेकेदार नपाउँदा काम सुरु हुन सकेको छैन ।
नगरपालिकाले साउन १८ गते १ महिने समय राखेर नदीजन्य पदार्थको रोयल्टी सङ्कलनको लागि विद्युतीय बोलपत्र आह्वान गरेपनि कसैको आवेदन नपरेपछि पुन असोज ७ गते १५ दिने सूचना निकालेको छ । नगरपालिकाले खुटिया नदीको न्यूनतम बोलपत्र रकम ८ करोड ७६ लाख, ७ हजार ७२८ र खौराना, गोदावरी नदीको न्यूनतम बोलपत्र रकम ४ करोड ९७ लाख ६ हजार १५६ रुपैयाँ राखेको छ ।
गोदावरी नगरपालिकाको नदीजन्य पदार्थ संकलन रोयल्टी मुख्य आयश्रोत भएपनि ठेकेदार पाउन भने समस्या झेल्दै आएको छ । रोयल्टी सङ्कलनका लागि ठेक्कामा लगाउने प्रक्रियामा ढिलाई हुँदा नगरपालिका भित्र रहेका नदीबाट अवैध रुपमा नदीजन्य पदार्थको उत्खनन र ढुवानी बढेको छ । नदीजन्य पदार्थको उत्खनन, ढुवानी खोल्न ढिलाइ हुँदा विकास निर्माणका काम समेत प्रभावित भएका छन ।