धनगढी – सुदूरपश्चिम प्रदेशमा सत्तारुढ तीन दलका नेताले सरकारी गाडी फिर्ता गरेका छन् । अनुसूचीमा नभएको सुविधा लिएको भन्दै प्रदेश सभा सचिवालयले सरकारी गाडी फिर्ता माग गरेको थियो ।

भदौ २१ गते बसेको सार्वजनिक लेखा समितिले प्रदेश सभा सचिवालयलाई माओवादी केन्द्र संसदीय दलका नेता खगराज भट्ट, नेकपा एकीकृत समाजवादी दलका नेता दीर्घ सोडारी र नागरिक उन्मुक्तिका दलका नेता घनश्याम चौधरीले प्रयोग गरिरहेको गाडी तीन दिन भित्र फिर्ता माग्न निर्देशन दिएको थियो ।

त्यसको तीन दिन पछि प्रदेश सभा सचिवालयले तीनै दलका नेताहरूलाई पत्र काटेर गाडी फिर्ता माग गरेको थियो । निर्धारित समयमा गाडी फिर्ता नगरेपछि केही ढिलो गरी सबै भन्दा पहिलो नागरिक उन्मुक्ति पार्टी संसदीय दलका नेता घनश्याम चौधरीले गाडी फिर्ता गरेका थिए ।
त्यसपछि नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता दीर्घ सोडारी र त्यसपछि माओवादी संसदीय दलका नेता खगराज भट्टले गाडी फिर्ता गरेको प्रदेश सभा सचिवालयले जानकारी दिएको छ ।















