टीकापुर – कैलाली प्रहरीमा दैनिक एक भन्दा बढी लागु औषधका मुद्दा दर्ता हुने गरेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीको तथ्याङ्क अनुसार जिल्लामा ६३ दिनमा ७३ ओटा मुद्दा दर्ता भएका छन् । लागु औषधमा संलग्न १०८ जना प्रतिवादी पक्राउ परेका छन् ।

प्रहरीले गएको साउन एक गतेदेखि भदौ ३१ गतेसम्म २ महिनाको अवधि अर्थात् ६३ दिनमा ७३ ओटा लागु औषधका मुद्दा दर्ता गरेको जानकारी दिएको छ । साउन महिनामा ४६ र भदौ २७ ओटा मुद्दा दर्ता भएका छन् । दुई महिनामा चलाएका ७३ मुद्दामा संलग्न रहेका १०८ जना पक्राउ परेका छन् । लागु औषधमा संलग्न रहेको आरोपमा जिल्लाका विभिन्न स्थानबाट एक सय जना पुरुष ८ जना महिला पक्राउ परेका हुन ।

पक्राउ परेकाहरूको साथबाट साउन महिनामा ४ किलो चरेश र ५८ ग्राम ६४५ मिलिग्राम ब्राउन सुगर बरामद भएको छ । भदौ महिनामा एक किलो ३ सय ग्राम चरेश, २३ ग्राम ३०७ मिलिग्राम ब्राउन सुगर बरामद भएको छ । २ महिनाको अवधिमा ५ किलो ३ सय ग्राम चरेश, ८१ ग्राम ९५२ मिलिग्राम खैरो हिरोइन बरामद भएको जिल्ला प्रहरी कार्यालय कैलालीका सह–प्रवक्ता प्रहरी निरीक्षक लोकेन्द्रसिंह कार्कीले जानकारी दिए ।

कैलालीमा जिल्ला प्रहरी कार्यालय धनगढी, ईलाका प्रहरी कार्यालय टीकापुर, लम्की, भजनी, सुखड र मालाखेतिले लागु औषधमा मुद्दा चलाउँछ । २ महिनाको अवधिमा ईलाका प्रहरी कार्यालय टीकापुरले ११ ओटा लागु औषधका मुद्दा दर्ता गरेको छ भने १६ जना प्रतिवादी पक्राउ गरेको छ । १९ ग्राम १९० मिलिग्राम लागु औषध खैरो हिरोइन बरामद गरेको छ ।
ईलाका प्रहरी कार्यालय मालाखेतिले १९ ओटा मुद्दा दर्ता गरेको छ भने ३४ जना पक्राउ गरेको छ । ३५ ग्राम १०१ मिलिग्राम खैरो हिरोइन बरामद गरेको छ । भजनीले ३ ओटा मुद्दा दर्ता गरेको छ भने ४ जना प्रतिवादी पक्राउ गरेको छ । २ ग्राम ५० मिलिग्राम खैरो हिरोइन बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय लम्कीले २ ओटा मुद्दा दर्ता गरेको छ भने ४ जना प्रतिवादी पक्राउ गरेको छ । एक ग्राम ४७० मिलिग्राम खैरो हिरोइन बरामद गरेको छ । सुखडले एक मुद्दा दर्ता गरेको छ भने ४ जना प्रतिवादी पक्राउ गरी एक किलो ३ सय ग्राम चरेश बरामद गरेको छ ।
प्रहरीको तथ्याङ्क जस्तै समाजमा पनि लागु औषधको अवस्था भयावह देखिन थालेको नागरिकहरूको बुझाई छ । नेपाल भारत सीमा क्षेत्रका नागरिकहरू अहिले लागु औषध ओसारपसारमा लगानी समेत गर्न लागेको भन्ने सुनिन थालेको र यसले गर्दा यहाँ लागु औषध दुव्र्यसनीको अवस्था अझै भयावह देखिने टीकापुर नगरपालिका वडा नम्बर ८ का धनसिंह साउँदको भनाई छ ।
वडा नम्बर एक शक्तिनगरका पूर्व बडघर रामलाल डंगौराले पनि समुदायमा लागु औषध दुव्र्यसनी बढेको देख्दा चिन्ता व्यक्त गर्दै यसको नियन्त्रणमा सबैले ध्यान दिनुपर्ने बताएका छन ।
रेडियो नेपाल