थारू समुदायमा आज अट्वारी पर्व मनाइँदै

धनगढी –  पश्चिम नेपालको तराई र भित्री मधेसका थारूले आज अट्वारी पर्व धुमधामसँग मनाउँदै छन् । दाजु र बहिनी, भाइ र दिदीको सम्बन्ध जोड्ने, बढाउने र सुधार्ने पर्वको रूपमा यो पर्वलाई लिइन्छ । यो पर्वमा दाजुभाइले विवाहित दिदीबहिनीलाई कोसेली दिने चलन छ । यो अनिवार्यजस्तै मानिन्छ । पश्चिम नेपालका थारूले कृष्ण जन्माष्टमीपछि अट्वारी मनाउँछन् । थारू जातिले ‘माघी’ र दसैँपछि ‘अट्वारी’ पर्वलाई तेस्रो ठूलो पर्वको रूपमा मनाउँदै आएका छन् । यो पर्वलाई थारू समुदायले दुई दिनसम्म मनाउँछन् ।

Karma Consultancy

हरितालिका तिजको अघिपछि पर्ने आइतबार मनाइने भएकोले यो पर्वलाई अट्वारी भनिएको हो । पश्चिम नेपालका भित्रि मधेस र तराईका दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर तथा सुर्खेत जिल्लाका थारू जातिले यो पर्व उल्लासमय वातावरणमा मनाउने गर्दछन् ।

citizen security services

‘अट्वारी’ पर्वमा थारू समुदायका प्रायः पुरुष व्रत बस्छन् । पुरुषहरू भालेले डाँको छोड्नुभन्दा पहिले दर खान्छन् । यसलाई थारू समुदायले ‘भिन्स¥या’ भन्दछन् । पुरुषहरू निराहार ब्रत बस्छन् । र, दिउँसो गन्यारी काठबाट आगो निकालेर देवतालाई चढाउने रोटी पकाउँछन् । यो आगो मुखले फुक्न मिल्दैन । मुखले फुके अशुद्ध हुन्छ भन्ने मान्यता छ ।

attariya hospital

‘अट्वारी’ मनाउने चलन थारू जाति संगठित भई बस्न थालेदेखि नै सुरु भएको मानिन्छ । यो पर्वसँग ऐतिहासिक घटना जोडिएको छ । पाँच पाण्डव र द्रौपती सुर्खेतको काँक्रेबिहार घुम्न गएको वेला दाङका थारू राजा दंगीशरणको राज्यमा शत्रुले आक्रमण गरेको खबर सुन्नेबित्तिकै तावामा पकाउन राखेको रोटी छोडेर भीम (भ्यावाँ) दंगीशरणको पक्षमा लडाइँ गर्न दाङ आएको र शत्रुलाई पराजित गरेको किंवदन्ती छ । त्यसैले भीमजस्तै बलियो हुन पाऊँ भनी अट्वारीमा एकतर्फ मात्र पकाएको रोटीले भीमको पूजा गरिन्छ ।

यही मान्यतालाई विश्वास गरी थारू समुदायले भीमजस्तो बलियो हुन पाऊँ भनी ‘अट्वारी’ पर्व मनाउन थालेको थारू संस्कृतविद बताउन्छन ।
थारू राजा दंगीशरणको राज्यमा शत्रुले आक्रमण गरेको वेला भीमको सहयोगमा आइतबारका दिन विजय प्राप्त गरेको मान्यताअनुसार थारू समुदायले भीमका नाममा आइतबारका दिन ‘अट्वारी’ पर्व मनाउन थालेको विश्वास गरिन्छ ।

अट्वारीको दोस्रो दिन फह्रार

‘अट्वारी’को दोस्रो दिनलाई फह्रार गरिन्छ । अट्वारीको व्रत बस्ने पुरुषहरू बिहानै उठेर नजिकैको नदी, खोलामा गएर नुहाउँछन् । नुहाइसकेपछि बैठक कोठलाई लिपपोत गरी तीन, पाँच या सात थरीका तरकारी पकाउँछन् । तरकारीमा चना, मटर, केराउ, सिल्टुङको तरकारी अनिवार्य हुन्छ । फह्रार गर्नका लागि पोइँको पातको तरकारी पनि प्रायजसोले बनाउने गर्दछन् ।

यी विभिन्न थरीका तरकारी र भात टपरीमा राख्ने र आधा भाग आफ्ना चेलिबेटीका लागि अर्को टपरीमा राखिन्छ । र, सबै थरीका तरकारी र भात अलिकति झिकेर आगोलाई चढाइन्छ । यसलाई नै थारू समुदायले फह्रार कर्ना भन्दछन् ।

व्रत बसेका सबैले फह्रार गरिसकेपछि घरका सबैजना सँगै बसेर भात खान्छन् । अट्वारीको बेलुकीपख चेलिबेटीका लागि छुट्याइएको अग्रासनको रोटी र सोमबार बिहान गरिएको फह्रारको भात तथा तरकारी आफ्नो विवाहित चेलिबेटीलाई अग्रासनको रूपमा दिने चलन छ ।

थारू समुदायले अट्वारीको रोटीपुरी र तरकारी, भात आफ्ना चेलिबेटीलाई दिने गर्दछन् । यसलाई थारू समुदायले अग्रासन भन्छन् । परापूर्वकालदेखि नै अग्रासन दिने गरिएकोले विवाहित चेलिबेटीहरू अग्रासनको पर्खाइमा हुन्छन् । जबसम ‘अग्रासन’ दिन दाजुभाइ, काका, बाबा आउँदैनन् तबसम्म पर्खेर बसेका हुन्छन् ।

थारू समुदायको अट्वारी पर्व दाजु–बहिनी, दिदी र भाइबीचको सम्बन्ध जोड्ने, बढाउने र बजबुत बनाउने पर्वको रूपमा लिइन्छ । अघिपछि दाजु–बहिनी, भाइ र दिदीबीच भएको मनमुटाव पनि अट्वारी पर्वले मेटाउने गर्दछ ।

वर्षभरि दिदीबहिनीको घरमा नगएका दाजुभाइ जसरी भए पनि अट्वारीको अग्रासन दिन जान्छन् । वर्षभरिको रिसराग पनि ‘अट्वारी’को अग्रासनले मेटाउने गर्दछ । त्यसैले ‘अट्वारी’ पर्वलाई मेलमिलाप र सदभावको पर्वको रूपमा लिइन्छ । यो पर्वले दाजुभाइ र दिदिबहिनीको भेटघाट गर्ने अवसर जुराउने गरेको छ ।

सुदूरपश्चिममा सार्वजनिक बिदा

अट्वारी पर्वको उपलक्ष्यमा सुदूरपश्चिम प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ । थारु समुदायको अट्वारी पर्वको उपलक्ष्यमा प्रदेश सरकारले सार्वजनिक बिदा दिएको हो । सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायमा बिदा रहने प्रदेश राजपत्रमा उल्लेख छ । पर्वको अवसरमा कैलारी गाउँपालिका, भजनी नगरपालिका लगायतले पालिकामा दुई दिन सार्वजनिक बिदा दिएका छन् ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.