कञ्चनपुर – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका – १० झलारी बजारबाट मानसिक स्वास्थ्य समस्या भएकी एक युवतीको उद्धार गरिएको छ । बुधबार शुक्लाफाँटाका नगर प्रमुख रणबहादुर महराको पहलमा भीमदत्त नगरपालिका–१३ पिपरियाकी २० वर्षीया सिमा सुनारको उद्धार गरिएको हो ।

ती युवती दुई हप्तादेखि सडकमै बस्दै आएकी थिइन् । उनलाई धनगढीस्थित मानव सेवा आश्रमको जिम्मा लगाइएको नगर प्रमुख महराले बताए ।

‘गत वर्ष ४ जना मानसिक समस्या भएका, बेवारिसे बालबालिका तथा महिलाको उद्धार गरेका थियौं,’ उनले भने, ‘मानव सेवा आश्रमलाई पनि सहयोग गर्दै आएका छौं ।’

नगरपालिकाले गत वर्ष मानव सेवा आश्रमलाई १ लाख सहयोग गरेको थियो । ‘यस वर्ष पनि मानव सेवा आश्रमलाई सहयोग गर्ने नगरपालिकाको योजना छ,’ उनले भने ।
