कञ्चनपुर – कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट बस्तीमा पस्दै आएका जंगली हात्तीका कारण स्थानीयले सास्ती खेप्दै आएका छन् । उनीहरुले जंगली हात्ती नियन्त्रणका लागि माग गरेका छन् । भारतको दूधुवा नेशनलपार्क हुँदै आउने गरेको जङगली हात्तीको बथानले धानबालीमा नोक्सानी गर्न थालेपछि किसानले हात्ती नियन्त्रणका लागि माग गरेका छन्। निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गतपर्ने शुक्लाफाँटा नगरपालिका– ५, ६,७ र ८ का किसान हात्ती आतङ्कबाट त्रसित छन् ।

हात्तीकै डरले साँझ नपर्दै स्थानीयले गाउँमा हिँडडुलसमेत बन्द गरेका छन् । हात्तीको बथानले चार दिनदेखि यस क्षेत्रका किसानको धानबाली नोक्सानी गर्दै आएको छ । पाक्नै लागेको धानबली खान लागेको हात्तीको बथान भगाउन जाँदा आक्रमण गर्न आउने गरेको वडा नं ७ का नरेन्द्र धानुकले बताए ।


‘निकुञ्जले गैरघातक तरिकाले हात्ती भगाउन भन्ने गरको छ’ उनले भने, ‘हो हल्ला गर्दा, आगो बाल्दा हात्ती भाग्दैनन, धानबाली सखाप पारेको छ ।’ उनीहरु हात्ती भगाउन रातभर जाग्राम बस्दै आएका छन् ।
हात्ती किसानका खेत र बस्ती क्षेत्रमा छिर्ने ठाउँमा स्वचालित सौर्यबत्ती र विद्युतीय मेसवायरको माग गरेपनि कुनै निकायबाट हालसम्म सुनवाइ हुन नसकेको वडा नं ५ का श्याम भट्टले बताए। हालसम्म हात्तीको बथानले नगरपालिकाको तीन वडाका ४० बढी किसानको झण्डै ३० बिघाको धानबालीमा नोक्सानी पु-याएको छ ।
हात्ती नियन्त्रणका लागि प्रदेशको पर्यटन वन तथा वातावरण मन्त्रालयसँग राति पालोपहरा दिने जनशक्तिका लागि बजेट व्यवस्थापनसँगै २० थान सौर्यबीत्त, ५० थान टर्चलाइट, २० थान रेनकोट र २० थान बुटको व्यवस्था गरिदिन पत्राचार गरिएको वडा नं ५ का वडाध्यक्ष चक्रबहादुर खडकाले बताए ।
‘नगरपालिका र वडा कार्यालयसँग हात्ती नियन्त्रणका लागि आवश्यक बजेट नभएपछि प्रदेश सरकारलाई गुहारेका छौं’ उनले भने । जंगली हात्तीको आक्रमणबाट तीन वर्षयता मध्यवर्ती क्षेत्रका सात जनाले ज्यान गुमाइसकेका छन् ।
