अत्तरिया – सुदूरपश्चिम सरकारीकी पूर्व भौतिक पूर्वाधार राज्यमन्त्री चुनकुमारी चौधरीले गोदावरीबाट राजधानी सार्न खोजिए द्धन्द्ध निम्तिने बताएका छिन । सोमबार गोदावरी होटल व्यवसायी संघले आयोजना गरेको तिज विशेष कार्यक्रममा बोल्दै पूर्व राज्यमन्त्री चौधरीले सुदूरपश्चिमका मुख्यमन्त्रीले अहिले राजधानीको सार्ने भनेर द्धन्द्ध निम्त्याउने काम गरेको बताइन् ।

तत्कालीन राजधानी सिफारिस समितिकी उपसंयोजक समेत रहेकी चौधरीले सबैको सल्लाहमै गोदावरीमा राजधानी घोषणा गरिएको बताइन् । ‘सुदूरपश्चिमका जनतालाई राजधानी अत्तरियामा चाहिएको छ । अत्तरियामा अत्तरियाका जनतालाई मात्रै राजधानी चाहिएको होइन’ उनले भनिन् ‘यो सुदूरपश्चिमका जनतालाई चाहिएको हो । राजधानी सुदूरपश्चिमका सबै जनतासँग सल्लाह गरेर नै राखिएको हो । यहाँ राजधानी नभए अर्को द्धन्द्ध निम्तिन्छ ।’


उनले गोदावरीमा सुदूरपश्चिमको राजधानी सबैलाई पायक पर्ने उपयुक्त ठाउँमा भएको बताइन् । उनले अघिल्लो सांसदको दुई तिहाइको बहुमतले गोदावरीमा राजधानी बनाउने निर्णय भएकाले अहिलेको सरकारले त्यसलाई कार्यान्वयन गर्नुपर्ने बताइन् ।

‘अहिले मुख्यमन्त्री ज्यूले अहिले राजधानी सार्ने भनेर गैरजिम्मेवारी पूर्ण अभिव्यक्ति दिइरहनु भएको छ । अहिले जनतालाई ठग्ने काम भइरहेको छ’ उनले भनिन् ‘अहिले अत्तरियामा राजधानीकै आसमा कति धेरै संरचना बनिसकेका छन । मुख्यमन्त्रीले अहिले मनलाग्दी बोल्न मिल्दैन । मुख्यमन्त्रीले दुई तिहाइको म्यान्डेड कार्यान्वयन गर्नुपर्छ ।’
उनले मुख्यमन्त्रीको राजधानी सार्ने अभिव्यक्तिको आफूले घोर भर्त्सना गरेको बताइन् । ‘एकातिर मेडिकल विश्वविद्यालय लथालिङ्ग हुँदा प्रदेश सरकार चुप लागेर बसेको छ । अर्कोतिर राजधानी सार्ने भनेर मुख्यमन्त्री बोल्दै हिँडिरहनु भएको छ’ उनले भनिन् ‘यस्ता अभिव्यक्तिको म घोर भर्त्सना गर्दछु ।’