धनगढी – सुदूरपश्चिम प्रदेशमा एक जना प्रदेश सभा सदस्यसहित पाँच जनप्रतिनिधिको पद रिक्त भएको छ । प्रदेश र स्थानीय तह गरी देशैभरी विभिन्न १८ जिल्लाका २१ जनप्रतिनिधिको पद रिक्त भएकोमा सुदूरपश्चिममा मात्र पाँच पद रिक्त भएको निर्वाचन आयोगले जानकारी दिएको छ ।

बझाङबाट प्रदेश सभा सदस्यमा निर्वाचित पृथ्वी बहादुर सिंहको सवारी दुर्घटनामा निधन भएसँगै उक्त पद रिक्त भएको हो । सुदूरपश्चिम प्रदेशका तत्कालीन आन्तरिक मामिला तथा कानुन मन्त्री समेत रहेका सिंहको दुर्घटनामा परी गत असार ५ गते निधन भएपछि उक्त पद खाली भएको छ । उनी नेपाली काँग्रेसबाट निर्वाचित भएका थिए ।

त्यस्तै जिल्ला समन्वय समिति कैलालीका प्रमुख पदमबहादुर कलेलको २०७९ पुस २३मा निधन भएसंगै उक्त पद पनि रिक्त रहेको छ । कलेल नेपाली काँग्रेसबाट निर्वाचित भएका थिए ।
यसैगरी डोटीको पूर्वाचौकी गाउँपालिका वडा नम्बर ६ गाँजरीका वडाध्यक्ष पुष्पराज जोशीको गत वर्ष मंसिरमा निधन भएको थियो। उनी पनि काँग्रेसबाट निर्वाचित भएका थिए ।
त्यस्तै, गत जेठ २५ गते बझाङको सुर्मा गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष सर्जन बोहराको निधनपछि पद रिक्त छ । उनी एमालेबाट विजयी भएका थिए ।
दार्चुलाको दुहु गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष मनोरथ भट्टको पनि निधन भएपछि पद रिक्त छ । उनी माओवादी केन्द्रबाट निर्वाचित भएका थिए ।