अत्तरिया – गोदावरी नगरपालिकामा रहेको एउटा महिला विकास सहकारीले पदाधिकारी र कर्मचारी उत्प्रेरणा कार्यक्रम आयोजना गरेको छ । नगरपालिकाको वडा नं. ८ जमुनानगरमा रहेको सृजनशिल महिला विकास बहुउद्देश्यिय सहकारी संस्था लिमिटेडले सहकारीका पदाधिकारी र कर्मचारीका लागि उत्प्रेरणा कार्यक्रम आयोजना गरेको हो ।

संस्थाकी अध्यक्ष भावना खड्काले सहकारीको वर्षभरीको कारोबारको समिक्षा गर्न कार्यक्रम आयोजना गरिएको बताईन । उनले दैनिक क्रियाकलापमा कर्मचारीहरुका आवश्यकता र समस्याहरुका बारेमा पनि छलफल गरिएको बताईन । उनले त्यतिमात्रै नभई सहकारीमा आवद्ध पदाधिकारी, कर्मचारी र विभिन्न वार्ड समुहका अध्यक्षहरुलाई भेला गराएर आगामी दिनमा सहकारीको व्यवस्थीत सञ्चालनमा गर्नुपर्ने क्रियाकलाप र ध्यान दिनुपर्ने पक्षहरुका बारेमा समेत छलफल गरिएको बताईन ।

कार्यक्रममा बोल्दै सहकारीकी संस्थापक सदस्य एवम् सल्लाहकार शान्ति सिँहले २०५२ सालमा गाउँ गाउँमा समुह बनाएर सुरु गरिएको सहकारीले ठुलो रुप लिएको बताईन । उनले सहकारीको वृहत रुपको व्यवस्थापन गाह्रो भएकाले सहकारीलाई अझै माथी उकास्न के गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको बताईन । उनले सहकारीमा आवद्ध सदस्यहरुले पनि सहकारीले आगामी दिनमा कुन कुरामा ध्यान दिने भन्ने विषयमा सचेत गराएका बताईन ।

कार्यक्रममा सुदूरपश्चिमकी प्रदेश सभा सदस्य तुलसी देवकोटाले सहकारीले कर्मचारी र पदाधिकारीहरुबिच छलफल कार्यक्रम आयोजना गरेकोमा खुसी व्यक्त गरीन । उनले वर्षको अन्त्यमा कर्मचारीको कामप्रतिको मनोबल बढाउन र कर्मचारीहरुमा उत्प्रेरणा जगाउन यस्ता किसिमका कार्यक्रमहरु जरुरी रहेको बताईन ।
‘सहकारीले गरेको कार्यक्रम एकदमै महत्वपुर्ण छ’ उनले भनिन् ‘सहकारीको वर्षभरीको समिक्षा गर्दा तथा संस्थाको अवस्था विश्लेषण गर्दा पनि सहकारीको भविष्यको बारेमा जानकारी राख्न सकिन्छ ।’ उनले यस्ता कार्यक्रमले संस्थालाई उत्कृष्ट बनाउन मद्दत पुग्ने बताईन । त्यसका साथै वर्षको विदाइको समयमा वर्तमान अवस्था भन्दा आगामी दिनमा सहकारीलाई कसरी उत्कृष्ट बनाएर लैजाने भन्ने योजना बनेको समेत उनले बताईन ।