बैतडी – सिमान्तकृत समुदायको अधिकारका लागि वकालत गर्दै आएकी बैतडीकी सरस्वती नेपालीले संयुक्तराज्य अमेरिकाको डिपार्टमेन्ट अफ स्टेटको यस वर्षको ‘ग्लोबल एन्टी–रेसिज्म च्याम्पियन्स अवार्ड’ (जिएआरसी) प्राप्त गरेकी छिन ।
बीस वर्षदेखि नेपालमा सिमान्तकृत जाति, अपाङ्गभएका व्यक्ति र गरिबहरूको मानवअधिकारको वकालत गर्दै आएकी सामाजिक कार्यकर्ता र दलित समाज विकास मञ्चको अध्यक्षका रूपमा उनले सो अवार्ड प्राप्त पाएको यहाँस्थित अमेरिकी दूतावासले जनाएको छ ।
उनको प्रयासले नेपालको ग्रामीण पश्चिमी जिल्लाका धेरै दलित परिवारले जग्गाको कानुनी हक र न्याय पाएका छन् । अध्यक्ष नेपालीले सन् २००७ मा नेपालको इतिहासमा जातीय भेदभावको पहिलो सफल अभियोजन सहित न्यायको खोजीमा थुप्रै जातीय भेदभाव विरुद्धको मुद्दाहरू जितेकी थिइन ।
यो अवार्ड नेपाली सहित ट्युनिसिया, बङ्लादेश, ब्राजिल, मोल्डोभो र पेरुका एकएक जना सामाजिक अभियन्तालाई प्रदान गरिएको छ ।
बैतडी घर भएकी नेपालीले यसअघि ५ लाख राशीको अन्तराष्ट्रिय दर्नाल अवार्ड समेत प्राप्त गरिसकेकी छन् । उनी लामो समयदेखि जातीय विभेदविरुद्ध सक्रिय रुपमा लागिपरेकी छन् ।