धनगढी – पहिरोले विस्थापित भएका कैलालीको गोदावरी नगरपालिका र चुरे गाउँपालिका परिवार पुनस्थापनाको माग गर्दै मुख्यमन्त्री कार्यालयमा पुगेका छन ।
गोदावरी र चुरेका १६९ घर परिवारले मुख्यमन्त्री कमल बहादुर शाहलाई भेटेर व्यवस्थापनको माग गरेका हुन । २०७७ सालमा आएको पहिरोबाट विस्थापित भएका स्थानीय चुरे गाउँपालिका वडा नम्बर ४ मा रहेको पनेरुगडामा बसिरहेका थिए ।

उनीहरूलाई जेठ ६ गते त्यहाँबाट हटाइएको थियो । त्यसपछि आफन्तको घरमा बसिरहेकाहरू अहिले दीर्घकालीन व्यवस्थापनको माग गर्दै पटक पटक मुख्यमन्त्रीको कार्यालयमा धाउने गरेका भएपनि उनीहरुको मागको सुनुवाइ भने हुन सकेको छैन ।

‘हामीलाई खाने र बस्ने समस्या भएको छ । दैनिक रूपमा अरूको घरमा बसिरहेका छौँ’ स्थानीय टिकाराम कार्कीले भने, ‘मुख्यमन्त्री ज्यूलाई हामी पटक पटक समस्या समाधान गर्न आग्रह गर्दै आइरहेका छौँ । ’
चुरे गाउँपालिका र गोदावरी नगरपालिकाका जनप्रतिनिधिसँग समन्वय गरेर व्यवस्थापन गर्ने भन्दै आफूहरूलाई हटाइएको बताएका उनीहरूले अहिले आफ्नो समस्या समाधानमा कसैले पनि चासो नदिएको आरोप लगाएका छन् ।

विस्थापित भएकाहरूले दिएको तथ्याङ्क अनुसार अहिले गोदावरीको १२, ४ र ९ नम्बर वडाबाट ३० परिवार विस्थापित भएका छन् ।
त्यस्तै चुरे ४,५ र ६ नम्बर वडाबाट १३८ परिवार विस्थापित भएका छन् ।
