अत्तरिया – अविरल वर्षासँगै आएको पहिरोले अवरुद्ध भएको भीमदत्त राजमार्ग अझै सञ्चालनमा आउन सकेको छैन । कैलालीको गोदावरी नगरपालिका–४ बुढितोलामा सोमबार राति आएको पहिरोसँगै करिब दुई सय मिटर सडक भासिएपछि अवरुद्ध भएको राजमार्ग हालसम्म पनि सञ्चालनमा आउन नसकेको हो ।


डिभिजन सडक कार्यालयले पहिरो पन्छाउने काम जारी रहेपनि पहिरो आउने क्रम नरोकिएपछि समस्या भएको जनाएको छ । मंगलबार राति सोही ठाउँमा फेरि पहिरो गएको छ । सडक डिभिजन कार्यालयका प्रमुख हरि सुवेदीले चारवटा डोजरको प्रयोग गरेर दुवैतर्फबाट पहिरो पन्छाउने काम भइरहेको बताए ।

सुवेदीले सडक भासिएकै क्षेत्रमा मंगलबार राति पनि पहिरो गएको बताउँदै बुधबार बिहानैदेखि पुनः पन्छाउन थालिएको जानकारी दिए । उनले बुधबार साँझसम्म एकतर्फी भए पनि सडक सञ्चालन गर्ने प्रयास भइरहेको बताए । तर वर्षा र पहिरो खस्ने क्रम नरोकिएमा भने केही समस्या हुने बताइएको छ ।
