धनगढी – धनगढीमा विद्युतीय गाडी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ । विद्युतिय गाडी चार्जिङका लागि उपमहानगरपालिका परिसरमा जडान गरिएको उक्त स्टेसन आईतबार बाट सञ्चालनमा आएको हो ।


नेपाल विद्युत् प्राधिकरणले निर्माण गरेको चार्जिङ स्टेसनले विद्युतिय सवारी साधनहरुलाई राहत प्रदान गर्ने विस्वास लिईएको छ । विद्युतीय सवारी साधनको प्रयोग बढाएर वातावरणमैत्री यातायात प्रणालीको विकास गर्न उपमहानगरले नेपाल विद्युत् प्राधिकरणको सहयोगमा चार्जिङ स्टेसन सञ्चालनमा ल्याएको नगर प्रमुख गोपाल हमालले बताए । उनले फूलबारी बसपार्क र उपमहानगर परिसरमा निर्माण भएको चार्जिङ स्टेसनले विद्युतीय यातायात सेवालाई प्रर्वद्धन गर्ने बताए ।

धनगढीको चार्जिङ स्टेसनमा एक सय ४० किलोवाट क्षमताको रहेको छ । चार्जिङ स्टेसनमा एक घण्टाभन्दा कम समयमा चार्ज गर्न मिल्ने ६० किलोवाटका दुईवटा डिसी र २२ किलोवाटको एक एसी चार्जर राखिएको छ । सवारी साधनको चार्ज गर्न ग्राहकले क्यूआर कोड र मोबाइल एपमार्फत बिलको भुक्तानी गर्न सक्नेछन् । गाडी चार्ज गर्न बिहान र राति १० रुपैयाँ ४४ पैसा प्रतियुनिट, दिउँसो ८ रुपैया २८ पैसा प्रतियुनिट र राति ११ बजेपछि ६ रुपैयाँ प्रति युनिट शुल्क तोकिएको छ ।
