अत्तरिया – कैलालीको अत्तरियाबाट लागुऔषध सहित ३ जना पक्राउ परेका छन । बिशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको सादा पोषाकको प्रहरी टोलीले गोदावरी नगरपालिका – २ अत्तरियाबाट ३ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा तेघरी बस्ने २७ बर्षीय तेज ब. खड्का, २५ बर्षीय कुमार खड्का र २६ बर्षीय धर्मराज खत्री रहेका छन । उनीहरुको साथबाट ८५० मिलिग्राम लागुऔषध खैरो हिरोइन जस्तो देखिने पदार्थ फेला परेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।

प्रहरीले तिनै जनाको साथबाट ७० मिलिग्राम लागुऔषध फेला पारेर पक्राउ गरेको भएपनि सोधपुछका क्रममा थप ७५० मिलिग्राम लागुऔषध तेज खड्काको कोठाबाट फेला परेको थियो । प्रहरीका अनुुसार उक्त लागुऔषध खड्काले सुत्ने कोठाको खाट मुनि झाडुको पिँधको प्लास्टिकको कभर भित्र १० रुपैयाँको नोटमा पोको पारी राखेको अवस्थामा फेला परेको थियो ।

पक्राउ परेका तिनै जनालाई इलाका प्रहरी कार्यालय मालाखेतीमा राखेर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।