कञ्चनपुर – दोधारा चाँदनी नगरपालिका–१० स्थित कुतियाकवरमा महाकाली नदीले कटान गर्न थालेपछि स्थानीयवासी अस्थायी तटबन्ध निमार्णमा जुटेका छन् । जोगबुढा र महाकाली नदीको दोभान भएका कारण यो क्षेत्रमा हरेक वर्ष डुबान र कटान हुने गरेको छ । महाकाली नदीमा सामान्य जलस्तर बढ्दा पनि नदीले बस्तीतर्फ कटान गर्न थालेको दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोरकुमार लिम्बूले जानकारी दिए ।
‘बस्तीबाट ४०/५० मिटरको दूरीमा महाकाली नदीले कटान थालेको छ यसलाई रोक्न अस्थायी तटबन्ध गर्न थालेका छौँ’, नगरप्रमुख लिम्बूले भने, ‘अहिलेसम्म नदीले दुई बिघाभन्दा बढी जग्गा कटान गरिसकेको छ ।’
महाकाली नदीमा जलस्तर बढ्दा काम गर्न निकै कठिन भएको उनले बताए । अहिले यो क्षेत्रमा स्थानीयवासीले रुखका हाँगा, बाँस र डोरीले पानीको प्रवाह कम गर्न अस्थायी तटबन्धको काम गरिरहेका छन् ।
ठूलो बाढी नआउँदै महाकालीले कटान गर्न थालेपछि यहाँका स्थानीयवासी त्रसित बनेका छन् । ‘यहाँको खेतीयोग्य जग्गा नदीले तीव्ररूपमा कटान गरिरहेको छ’, स्थानीय प्रेम सार्कीले भने, ‘बाढीको त्रासले यहाँका बासिन्दाले सुत्न पाएका छैनन् ।’ उनले कटान रोक्न स्थानीय पालिकाले तत्काल काम गर्नुपर्ने बताए ।
स्थानीय मायादेवी सुनारले यहाँ हरेक वर्ष बाढीले क्षति गर्ने गरेकाले बस्तीको विकल्प खोज्नुपर्ने बताइन् । ‘तीनतिर जोगबुढा नदी र एकतर्फ महाकाली नदीले घेरेको छ’, उनले भनिन्, ‘यहाँ डुबान र कटान धेरै हुन्छ। बाढीकै कारण यहाँबाट धेरै अन्यत्र बसाइँ सरेर गइसके ।’
गत वर्ष बाढीले बेसार र तरकारी खेती बगरमा परिणत गरिदिएको उनले बताइन् । ४९ परिवारको बसोबास रहेको यो बस्तीमा यहाँका स्थानीयवासी तरकारी उत्पादन गरेर जीविकोपार्जन गर्ने गर्छन् । बाढीले यहाँको बिघौँ जग्गा बगरमा परिणत गरेको छ ।