अत्तरिया – कैलालीको गोदावरी नगरपालिकामा जियोकृषि एपमा आवद्ध हुने किसानको संख्या बढ्दै गएको छ । नगरमा जियोकृषि संग जोडिएर प्रविधि संगै कृषिमा आवद्ध हुने किसानको संख्या बढ्न थालेको हो । हरेक कृषकको परिचय, खेतको जानकारी र बाली उत्पादन गर्ने योजनाको आधारमा प्रोफाइल तयार गरेर खेती सम्बन्धी जानकारी दिने उक्त एपमा हालसम्म २२ सय बढी किसान आवद्ध भइसकेका छन् ।

जियोकृषिका कार्यक्रम निर्देशक रदिप तान्दुकरले गोदावरीमा मात्रै यो एपमा जोडिनेको संख्या २२ सय १० पुगेको बताए । बिहिबार जियोकृषिले अत्तरियामा आयोजना गरेको छलफल तथा नतिजा प्रकाशनका कार्यक्रममा निर्देशक तान्दुकरले नगरमा जियोकृषिले कृषक समुह, सहकारी, एग्रोभेट, जियोकृषि सहजकर्ता, प्राविधिक विद्यालय संग समन्वय गरेर काम गरिरहेको बताए ।

उनले जियोकृषिले बिभिन्न संघसस्था, स्थानीय तह संग पनि सहकार्य गरेर किसानलाई सेवा दिइरहेको बताए । ‘हामीले दिगो रुपमा कसरी किसानहरुको खेत खेतमा पुग्न सकिन्छ भन्ने हिसावमा काम गरिरहेका छौ’ उनले भने ‘गोदावरीमा यसको प्रयोगकर्ताको संख्या राम्रो रहेको छ । यसलाई अझै कसरी बिस्तार गर्न सकिन्छ भन्नेमा हामी लागिपरेका छौ ।’
जियोकृषिका कैलाली कञ्चनपुर असिस्टेन्ट प्रोग्राम अफिसर रोसन साउँदले जियोकृषिका माध्यमबाट छिटो भन्दा छिटो किसानहरुका समस्या सामाधान गर्न सकिने बताए । उनले किसानहरुले एप मार्फत पठाएका समस्या विज्ञहरुले केही समयमा जवाफ पठाउने गरेको बताए ।

‘जियोकृषिले उत्पादकको खेत मा कुन बाली उत्पादन गर्दा सुहाउने देखि त्यस बाली उत्पादन गर्दा कसरी रोप्ने, खेत तयारी कसरी गर्ने, बाली व्यवस्थापन कसरी गर्ने जस्ता आवश्यक सम्पूर्ण जानकारी दिने गर्दछ’ उनले भने ‘यसमा किसानले खेत दर्ता गरेपछि मलको मात्रा कति प्रयोग गर्ने भन्ने पनि जानकारी दिइन्छ ।’ यो जियोकृषि एप किसानले निःशुल्क चलाउन पाउने उनले बताए ।
जियोकृषि एप सन २०१७ मा लन्च गरिएको थियो । यस एपमा किसानहरुले मोबाइलबाटै बजारीकरणका बारेमा पनि जानकारी पाउने गर्छन् । यो एपमा कृषि बालि, तरकारी, फलफलका खेती प्रविधिका बारेमा पनि जानकारी राखिएको छ । एपमा मौसम सम्बन्धी सूचना, पालिकाबाट प्रकाशित कृषि सूचना, रोग तथा किराहरुको सूचना लगायतका पनि जानकारी राखिएका छन ।
गोदावरीमा जियोकृषिका बारेमा किसानलाई जानकारी दिन एक बर्ष अघि परियोजना संचालन गरिएको थियो । गोदावरीबाट यस एपका प्रयोगकर्ताले हालसम्म ५५५ वटा समस्या पठाएकोमा त्यसको विज्ञहरुले सामाधान गरको प्रोग्राम अफिसर साउँदले बताए ।
यो एपमा सबैभन्दा बढी गोदावरी नगरपालिका – १२ का किसान जोडिएका छन । उक्त वडाबाट ४३१ किसान यस एपमा आवद्ध छन ।
कार्यक्रममा बोल्दै गोदावरी नगरपालिकाकी उपप्रमुख शारदा रोकायाले कृषिको विकासका लागि गोदावरीमा जियोकृषिको ठूलो योगदान रहेको बताइन् । उनले हाल जियोकृषिले सहकारी संग समन्वय गरेर कार्यक्रम गरिरहेकाले यो एकदमै प्रभावकारी हुने बताइन् । उनले आगामी दिनमा यो कार्यक्रमलाई नगरपालिका संग समन्वय गरेर संचालन गर्न सकिने बताइन् ।
