तरकारी खेतीबाट वार्षिक चार लाख कमाउँदै बैतडीका धनवीर

 

बैतडी – बैतडीको शिवनाथ गाउँपालिका–३ पोखरेटीका ४० वर्षीय धनवीरसिंह साउँद पेसाले शिक्षक हुन् । उनी स्थानीय गर्वेश्वर आधारभूत विद्यालयमा अध्यापन गराउँछन् । साउँदको दैनिकी विद्यालयमा पढाउने र बाँकी समय बारीमा तरकारीको हेरचाह गरेर बित्ने गरेको छ ।

maya metro hospital

गाउँमा उनी  ‘नमूना कृषक’का नामले पनि चिनिँदै आएका छन् । साउँदले तीन वर्षदेखि व्यावसायिक तरकारी खेती गर्दै आएका हुन् । लोभलाग्दो तरिकाले तरकारी खेती गर्दै आएका साउँदले वार्षिक चार लाखसम्म आम्दानी गर्छन् ।

joshi vada pasal 2

साउँदलाई तरकारी खेतीका लागि शिवनाथ गाउँपालिकाले पोलिहाउस, विषादी, बीउबिजन र प्राविधिक सहयोग गर्दै आएको छ । पोलिहाउसभित्र गरिएको तरकारी खेतीमा अहिले गोलभेँडा, बन्दा उत्पादन भएका छन् । पोलिहाउसमा लटरम्म फलेका गोलभेँडा र बन्दाले सबैको मन लोभ्याउने गरेको छ  ।

साउँदले भने, ‘पेसाले शिक्षक भए पनि विद्यालयपछिको समयमा तरकारी खेती गर्दै आएको छु । तरकारी खेतीबाटै मैले वार्षिक चार लाख कमाउने गरेको छु ।’ उनले गोलभैँडा, बन्दा, बोडी, अदुवा, बेसार लगायत खेती पनि गर्दै आएको बताए । उनका अनुसार पाँच रोपनी क्षेत्रफलमा १३ पोलिहाउस निर्माण गरी तरकारी गरिएको छ । उनले भने, ‘गाउँपालिकाले पोलिहाउस, विषादी, बीउबिजनका साथै प्राविधिक सहयोग गर्दै आएको छ । यसले गर्दा सहज भएको छ ।’

तरकारी खेतीबाट पाँच जनाको परिवारको जीविकोपार्जन भइरहेको साउँदको भनाइ छ । ‘शिक्षकको तलबबाट मात्रै घरपरिवार पाल्न असहज हुन थालेपछि तरकारी खेती गर्न थालेको हुँ । अहिले छोरालाई स्नातक पढाउन काठमाडौँ पठाएको छु’, उनले भने। तरकारी खेतीबाट मनग्य आम्दानी भएको देखेपछि आफूले पनि तरकारी खेती सुरु गरेको उनको भनाइ थियो ।

साउँदले भने, ‘गाउँका अन्य किसानले तरकारी खेतीबाट मनग्य आम्दानी गरेकाले मलाई पनि तरकारी खेतीमा लाग्न मन लाग्यो । आर्थिक अवस्था कमजोर भएकाले तलबले सबै आवश्यकता पूरा हुन नसकेपछि तरकारी खेती थाले । अहिले राम्रै भएको छ ।’ सिँचाइ सुविधा पर्याप्त नहुँदा, बजार अभाव, यातायात सेवा सहज नहुँदा बजारीकरणमा केही समस्या हुने गरेको उनले बताए ।

सिचाइँ सुविधा, बजार र यातायातको सहज सुविधा भए तरकारी खेती गर्न अझै सहज हुने साउँदले बताए । उनले भने, ‘सिचाइँ सुविधा नहुँदा खानेपानीले तरकारी सिँचाइ गर्नुपर्ने बाध्यता छ, खानेपानी रातिको समयमा संकलन गर्न ट्यांकी छैन ।’

बारीसम्म सडक विस्तार नभएकाले डोकोमा बोकेर सुल्लेखान उत्पादन भउका तरकारी पु¥याउनुपर्ने बाध्यता रहेको साउँदको भनाइ छ । उनले भने, ‘सडक नहुँदा डोकोमा बोकेर सुल्लेखानसम्म पु¥याउनुपर्दछ, बाह्रै महिना सञ्चालन हुने गरी सडक विस्तार भए अझै सहज हुने थियो ।’ कहिलेकाहीँ उत्पादित तरकारीले बजार नपाउँदा समस्या हुने गरेको साउँदले बताए । उनले भने, ‘मेहनत गरेर उत्पादन गरेको तरकारीले बजार नपाउँदा सस्तोमै बेच्नुपर्दछ । स्थानीय बजारमा खपत हुँदैन ।’

शिवनाथमा उत्पादन भएको तरकारी स्थानीय बजारका साथै जिल्लाको मेलौली, पाटन, सदरमुकाम र जिल्लाबाहिर डडेल्धुरा, कैलाली र कञ्चनपुरसम्म पुग्ने गरेको छ । अन्य समयमा तरकारी निर्यात गर्न सुल्लेखानबाट सहज हुने गरेको भए पनि बर्सातको समयमा उक्त क्षेत्रमा सडक अवरुद्ध हुँदा निकै सास्ती हुने गरेको साउँदले जानकारी दिए ।

तरकारी खेती आबद्ध किसानलाई व्यवसायिक खेतीका लागि आवश्यक सहयोग गरिँदै आएको शिवनाथ गाउँपालिका कृषि शाखा प्रमुख, कृषि अधिकृत ज्योति नायकले बताए। ‘यस वर्ष पालिकाभित्रका दुई सय ६५ किसानलाई ८० प्रतिशत अनुदानमा बीउबिजन, बाली संरक्षणका दुई सय ९९ लाई निःशुल्क विषादी दिएका छौँ’, उनले भने, ‘९० प्रतिशत अनुदानका लागि ८८ कृषकको पोलिहाउसका लागि निवेदन संकलन भएको छ ।’

कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर व्यावसायिक किसानलाई अनुदान सहयोग गर्दै आएको गाउँपालिकाका अध्यक्ष कर्णसिंह साउँदले बताए । उनले भने, ‘कृषि क्षेत्र हाम्रो पहिलो प्राथमिकता हो । व्यावसायिक किसानलाई व्यवसायिक कृषिमा आबद्ध गराउने उद्देश्यले सहयोग गर्दै आएका छौँ ।’

आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटमा पनि कृषकका लागि ‘एक–घर एक पोलिहाउस’, कृषि उपज ढुवानीका लागि ‘कृषि एम्बुलेन्स’ सञ्चालनको तयारी भएको अध्यक्ष साउँदले जानकारी दिए । गाउँपालिकाभित्र सिँचाइ सुविधा नभएको स्थानमा सिँचाइ, सडक नभएका ठाउँमा सडक सुविधा क्रमशः विस्तार गरिँदै लगिने उनको भनाइ थियो ।

रासस

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.