बैतडी – बैतडीको मेलौली नगरपालिकामा आपतकालिन कार्य सञ्चालन केन्द्र स्थापना गरिएको छ । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा बैतडी र सुरक्षित नेपाल परियोजनाको सहयोगमा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना गरिएको हो ।

विपद्को समयमा उद्धारमा सहयोग पु¥याउने लक्ष्यका साथ केन्द्र स्थापना गरिएको नगरप्रमुख भीमबहादुर चन्दले जानकारी दिए । उनले केन्द्रमा आवश्यक उद्धार सामग्री सहित राखिएको बताए । केन्द्रले विपद्को समयमा सहयोग उद्धारमा सहयोग पुग्ने उनले विश्वास व्यक्त गरे ।

यसअघि यहाँका सबै स्थानीय तहहरुलाई जिल्ला विपद् व्यवस्थापन समितिले स्थानीय विपद् पूर्वतयारी तथा प्रतिकार्ययोजना तर्जुमा गरेर पठाउन आग्रह गरेको थियो ।
प्रमुख जिल्ला अधिकारी एवं जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक सुरेश पन्थीको अध्यक्षतामा हालै बसेको बैठकले चालु आर्थिक बर्षमा स्थानीय तहहरुले विपद् पूर्वतयारी, रोकथाम र प्रतिकार्यका लागि गरेको कामहरुको प्रतिवेदन बनाएर असार १० भित्र जिल्ला प्रशासन कार्यालयमा पठाउन आग्रह गरेको हो ।
यस्तै विपद् प्रतिकार्यका सामग्रीहरुको अभिलेख पठाउनुपर्ने, आगामी मनसुनजन्य विपद्बाट प्रभावित हुन सक्ने क्षेत्रहरुको पहिचान गरी आवश्यक पूर्वतयारी गर्नुपर्ने बैठकले निर्णय गरेको थियो ।