बाजुरा – बाजुराको पूर्वी क्षेत्रमा रहेको एक वडा कार्यालयमा आगजनी भएको छ । हिमाली गाउँपालिकाको वडा –५ को वडा कार्यालयमा गएराति अज्ञात समूहले आगजनी गरेका हुन् ।

२०८० जेठ ३० गते बेलुकी ८ देखि ९ बजेको बीचको समयमा सो वडा कार्यालयमा अज्ञात समूहले आगजनी गरेको हिमाली गाउँपालिकाका पदाधिकारीले जनाएका छन् ।

वडा कार्यालयको ढोका तोडफोड गरी त्यहाँ रहेका महत्त्वपूर्ण कागजात जलाउनुका साथै तीन वटा कुर्सी, कम्प्युटर, प्रिन्टर समेत तोडफोड गरेको हिमाली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजबहादुर भण्डारीले बताए ।
वडा कार्यालयनजिक कवाडी प्रहरी चौकी छ । प्रहरी चौकीबाट सो वडा कार्यालयमा पुग्न पैदल ५ मिनेटको समय लाग्छ । हिमाली गाउँपालिकाका स्थानीयको सहजताका लागि केही वर्ष यता कवाडीमा अस्थायी प्रहरी पोष्ट स्थापना गरेको थियो ।
नागरिकको जीउ धनको सुरक्षाका लागि त्यहाँ अस्थायी प्रहरी पोष्ट स्थापना गरे पनि यहाँका नागरिक असुरक्षित रहेको स्थानीय रामदल बुढाले बताए । कार्यालय तोडफोड गर्ने एक जनालाई पक्राउ गरेर सोधपुछका लागि जिल्ला प्रहरी कार्यालय बाजुरा लगिएको जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी किशोरसिंह ऐरले बताएका छन ।