धनगढी – पहिलो पटक सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पुग्ने बझाङी चेली सङ्गीता रोकाया रोकायालाई सम्मान गरिएको छ । आज सुदूरपश्चिम प्रदेशका आन्तरीक मामिला तथा कानुन मन्त्री पृथ्वी बहादुर सिंहले ‘छाउपडी प्रथा अन्त्य’को सन्देशसहित सगरमाथा आराहण गर्न सफल बझाङको साइपाल गाउँपालिका–४ धुलीकी सङ्गीता रोकाया रोकायालाई बधाई तथा सम्मान गरेका हुन ।

बझाङबाट निर्वाचित मन्त्री सिंहले सम्मान कार्यक्रममा बोल्दै सगरमाथा आरोहण गर्ने कार्य सामान्य नभएको बताए । उनले दुर्गम बझाङको साइपालमा जन्मिएर विश्वकै सर्वोच्च शिखर सगरमाथामा बझाङकि छोरी संगिताको सफल आरोहणले नयाँ किर्तिमान राखेको भन्दै आफ्नो कार्यकालमा बिशेष साथ सम्मानका साथै आर्थिक सहयोग गर्न प्रतिबद्ध रहेको बताए।

यसैबिच जुनसुकै क्षेत्रमा पनि सफल हुनका लागी निरन्तर प्रयास र धैर्यता हुन जरुरी रहेको बताउदै सगरमाथा आरोही रोकायाले सुदूरपश्चिममा छाउपडी प्रथाको उन्मुलन गर्न प्रदेश सरकारले निती बनाई अगाडी बढ्नपर्नेमा जोड दिए। २६ वर्षीया रोकायाले पायोनियर एड्भेन्चर कम्पनीको सहयोगमा तीन भारतीय नागरिकसँगै यही जेठ ३ गत सगरमाथाको सफल आरोहण गरेकी थिइन ।