अत्तरिया – कैलालीको अत्तरियामा रहेको लोटस आई अंग्रेजी माध्यमिक विद्यालयले पहिलो पटक विद्यार्थीहरुको नेतृत्व चयनका लागि निर्वाचन गरेको छ । विद्यालयले शुक्रबार विभिन्न १० पदका लागि निर्वाचन गरेको हो ।

शैक्षिक वर्ष २०८० का लागि स्कुल क्याप्टेन र भाईस क्याप्टेन तथा हाउस क्याप्टेन र भाईस क्याप्टेन पदका लागि निर्वाचन गरिएको मतदान अधिकृत एवम् विद्यालयका प्रिन्सिपल मान बहादुर ऐरले जानकारी दिए । उनका अनुसार विद्यालयमा ४ वटा हाउसका क्याप्टेन र भाईस क्याप्टेन तथा स्कुलको क्याप्टेन र भाईस क्याप्टेनका लागि निर्वाचन गरिएको थियो ।


४ वटा हाउस मध्ये रेड हाउसको क्याप्टेन र भाईस क्याप्टेनका लागि ६/६ जना तथा एलो हाउसको क्याप्टेन र भाईस क्याप्टेनका लागि ५÷५ जनाले उम्मेदवारी दिएको उनले बताए । यसैगरी ब्लु हाउसको क्याप्टेनका लागि ५ जना र भाईस क्याप्टेनका लागि ४ जनाको उम्मेदवारी परेको छ भने ग्रिन हाउसको क्याप्टेनका लागि ६ जना र भाईस क्याप्टेनका लागि ४ जनाको उम्मेदवारी परेको छ ।
असल नेतृत्व स्कुलस्तरबाटै भन्ने नारा लिएर निर्वाचन थालिएको उनले बताए । उनले विद्यार्थीहरुलाई व्यवहारीक सिकाई वातावरण प्रदान गर्न विद्यालय प्रतिबद्ध रहेको र त्यसैका लागि मतदानको प्रकृया गरिएको बताए ।
निर्वाचनमा कक्षा ६ देखी कक्षा १० सम्मका १ हजार २ सय विद्यार्थीले मतदान गरेको उनले बताए । उनका अनुसार यसअघि कक्षास्तरबाट नै क्याप्टेन र भाईस क्याप्टेन चयन गर्ने गरिएकोमा पहिलो पटक विद्यार्थीहरुको अभ्यास स्वरुप निर्वाचन गराईएको बताए । मतदानको परिणाम आईतबार सार्वजनिक गरिने बताईएको छ ।
