कुहिरे खोलामा पुल नबने आन्दोलन गर्ने चेतावनी

टीकाराम साउद/ कैलाली – निर्माण सम्झौताको एक वर्ष बित्नै लाग्दा पनि कैलालीको बर्दगोरियास्थित कुहिरे खोलामा पुल निर्माण कार्यले गति लिन सकेको छैन । महेन्द्रराजमार्ग अन्तर्गत बर्दगोरिया गाउँपालिकाको – २ र ३ को सीमाना जोड्ने बौनिया–साँफेबगर सडकखण्डको कुहिरे खोलामा पुल निर्माणका लागि एकवर्ष अघि सम्झौता गरिएको थियो ।

maya metro hospital

सडक पुल निर्माणको जिम्मेवारी पाएको नारायणनम् सेवा प्रालिको ढिलासुस्तीले उक्त आयोजनाको काम अलपत्र परेको हो । ०७९ असारमा ३३ महिनाभित्र निर्माण सम्पन्न गर्ने गरि ठेक्का लिएको थियो । तर, सम्झौताको एकवर्ष बित्नैलाग्दा पनि कामको सुरसार देखिएको छैन ।

ठेक्का सम्झौता गरी पुल निर्माणको काम सुचारु नगरेको भन्दै स्थानीय सरकारले निर्माण कम्पनीमाथि कारबाही प्रक्रिया अघि बढाउने तयारी गरेको छ । गाउँपालिकाको कार्यपालिका बैठकले पालिका क्षेत्रभित्र पर्ने पुलपुलेसा निर्माणको काम अलपत्र पार्ने ठेकेदारलाई कारबाहीको दायरामा ल्याउन सम्बन्धित निकायमा पत्राचार गर्ने तयारी गरेको हो ।

attariya hospital

गाउँपालिकाका प्रवक्ता तथा वडा नं। १ का वडाध्यक्ष मिथुन गौतमले योजना निर्माणलाई गति दिन निगरानी बढाइएको र ढिलासुस्तीप्रति स्थानीय सरकारले चासो दिएको बताए । ‘पुल निर्माणको ठेक्का प्रक्रियापछि पनि ठेकेदार सम्पर्कमा नआएपछि कारबाही गर्ने कार्यपालिका बैठकमा निर्णय भएको हो’ उनले भने, ‘पहिलोपटक चेतावनी सहित पत्राचार गर्ने र निर्णय कार्यान्वयन नभए कारबाही गर्ने भएसँगै निर्माण कम्पनीका ठेकेदार बल्लतल्ल सम्पर्कमा आएका छन् ।’

लामो समयदेखि पुल निर्माणलाई लथालिंग छाडिँदा गौरवका आयोजना अलपत्र पर्ने भन्दै स्थानीयले चिन्ता व्यक्त गरेका छन् । पुल निर्माणले कहिले गति लिन्छ भन्नेमा अझै अन्यौलको अवस्था रहेको स्थानीय शिक्षक शिवराज गौतमले बताए । गौतम भन्छन्, ‘समयमै पुल नबन्दा यहाँका स्थानीयले धेरै नै सास्ती खेप्नु परेको छ, वर्षायाममा आवतजावतको समस्या छ । पुल निर्माणका लागि स्थानीय सरकारले पनि तदारुकता देखाउनुपथ्र्यो त्यो हुन सकेको छैन । राष्ट्रिय गौरवका आयोजनाको काम सुचारु गरि निर्धारित समयअगावै सम्पन्न गर्न मैले पटकपटक आवाज उठाउँदै आएको छु ।’ स्थानीय जनप्रतिनिधिको निगरानी र निर्माण कम्पनीको लापरबाहीले योजना अलपत्र परेको उनले बताए ।

निर्माण कम्पनीमाथि खबरदारी तथा दबाब सिर्जना गरि काम सुचारु गराउने दायित्व राज्य निकायको भएको उनको भनाइ छ । एक वर्षअघि १० करोड लागतमा पुलको ठेक्का भएपनि निर्माण कम्पनीले अहिलेसम्म पुलको डिजाइन तथा प्राविधिक नाप नक्सांकनको प्रतिवेदन स्वीकृत गर्न सकेको छैन ।

नारायनम् सेवा प्रालिका सञ्चालक जयबहादुर खत्रीले पुलको डिजाइन तथा प्राविधिक प्रतिवेदन स्वीकृत नभएकाले ढिलासुस्ती भएको बताए । उनले निर्माणको काम रोकिनुमा सडक विभागको नै कमजोरी रहेको औंल्याए । उनले आगामी दशैँअगावै काम सुचारु गर्ने लक्ष्य रहेको बताए । कुइरे खोलामा ७० मिटर लम्बाई र ११ मिटर चौडाईको पुल बन्ने छ । यस्तै, दायाँबायाँ दुवैतर्फ २००–२०० मिटर सडक पहुँच निर्माण हुनेछ । सडक विभागको डिजाइन अनुसार नै काम सम्पन्न गरिने कम्पनीको दाबी छ ।

सडक विभागले हाल योजना स्थलमा सडक पुल योजनाको लागि संक्षिप्त वातावरणीय अध्ययन ९बेस० प्रतिवेदन तयारीका लागि योजनाबाट प्रभावित सरोकारवालाहरुको रायसुझाव संकलन गर्ने भएको छ । विभागले यही जेठ १७ गते एक सूचना जारी गर्दै सम्झौताको एक वर्षपछि प्रारम्भिक सार्वजनिक सुनुवाइ गरिने जनाएको हो । जसअनुसार जेठ २४ गते सार्वजनिक सुनुवाइ गर्न लागिएको छ ।

सेती राजमार्ग ९दक्षिणखण्ड० टीकापुर–लोडे–चैनपुर सडक योजना संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालयका योजना प्रमुख रमेश भट्टराईले विभागले पुलको डिजाइन तथा प्राविधिकको काम स्वीकृती दिए लगत्तै काम सुचारु हुने बताए ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.