ठेक्का लागेको दुई वर्षपछि महाकाली करिडोरको ट्रयाक खोल्न सुरु

कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिका–९ खल्लाका सुरेन्द्र कठायतले महाकाली करिडोरबारे सुन्न थालेको डेढ दशक भयो । डडेल्धुराको परशुराम नगरपालिकाबाट विस्थापित भएर खल्लामा बसाइँ सरेका उनले त्यतिबेलै आँगन छेउमै करिडोरको सडक निर्माण हुने सुनेका थिए । उनले सुनेको कुरा अहिले आएर आशामा परिणत हुन थालेको छ ।

maya metro hospital

महाकाली करिडोरअन्तर्गत कञ्चनपुरमा पर्ने सडकको ट्रयाक खुल्न थालेपछि उनमा आशा पलाएको हो । भीमदत्त–९ ब्रह्मदेवमा वैशाख अन्तिम सातादेखि ट्रयाक खोल्न थालिएको हो । ‘युवा हुँदै सुनेको कुरा अहिले आएर काम सुरु भयो,’ कठायतले भने, ‘घरआँगनमै सडक पुगेपछि महेन्द्रनगर र पहाडतिर जान पनि सजिलो हुन्छ ।’ डडेल्धुराको परशुराममा बाढीले घरजमिन बगाएपछि कठायत ०६५ सालमा यहाँ बसाइँ सरेका हुन ।

joshi vada pasal 2

खल्ला, टुँडिखेल र मुसेट्टी नगरपालिकाका दुर्गम बस्ती हुन । सुदूरपश्चिमका पहाडी जिल्लाबाट विस्थापित भएर आएकाहरू यहाँ बसोबास गरिरहेका छन । चुरे फेदीमा रहेको महाकाली किनारको यो बस्ती बर्खायाममा निकै पीडामा हुन्छ । चुरेबाट बग्ने खहरे खोला र महाकालीको बाढीले बर्सेनि धेरैलाई विस्थापित बनाउँछ । ‘बर्खामा बिरामी उपचार गर्न लैजानसमेत बाटो हुँदैन,’ खल्लाका नारदसिंह मडैले भने, ‘करिडोर खुलेपछि राहत हुनेछ ।’ उनी पनि ०६० मा बाढीकै कारण विस्थापित भई यहाँ बसाइँ सरेका हुन ।

raunak fals and silling

कञ्चनपुरमा दुई वर्षअघि ठेक्का सम्झौता भएको करिडोरको ट्रयाक खोल्ने काम म्याद सकिनै लाग्दा सुरु भएको हो । १५ किमि ट्रयाक खोल्न दुई वर्षअघि दिवा शनिदेव जेभीसँग ५ करोडमा ठेक्का सम्झौता भएको थियो, जसमध्ये ११ किमि कञ्चनपुर र ४ किमि डडेल्धुराको परशुराम नगरपालिकामा पर्छ ।

लामो समयसम्म सडकमा पर्ने रूख कटानीको आदेश नआउँदा ट्रयाक खोल्ने काम सुरु हुन सकेको थिएन । पछिल्लो पटक रूख कटानीको आदेश आएपछि काम सुरु भएको महाकाली करिडोर सडक आयोजनाका प्रमुख लक्ष्मणदत्त जोशीले बताए । उनका अनुसार ट्रयाक खोल्ने र टेवा पर्खाल लगाउने गरी ठेक्का सम्झौता भएको हो । ‘रूख कटानी आदेशकै कारण ढिलो भएको हो, अहिले काम सुरु भइसकेको छ,’ जोशीले भने, ‘असोजसम्मको म्याद छँदै छ, ट्र्याक खोल्न यो पर्याप्त हो ।’ उनका अनुसार १५ किमि सडकमा १९ सय ५२ रूख काटिनेछन । रूख कटानी आदेश नआउँदा डडेलधुराको भागेश्वर क्षेत्रमा पनि ३१ किमि सडकको ट्रयाक खोल्ने काम सुरु हुन नसकेको उनले बताए ।

ब्रह्मदेवदेखि दार्चुलाको उत्तरी सीमा टिंकरसम्म ४२५ किमि सडकमध्ये दार्चुलाको तुसारपानीसम्म ३३४ किमि सडक करिडोर आयोजनाले निर्माण गरिरहेको छ । तुसारपानीदेखि टिंकरसम्मको सडकको काम नेपाली सेनाले गरिरहेको छ । दार्चुलामा ३२ र डडेलधुरामा ५ गरी ३७ किमि सडक कालोपत्रका लागि पनि ठेक्का सम्झौता भएको जोशीले जनाए ।

बहुवर्षीय ठेक्काअन्तर्गत ३ वर्षमा काम सक्ने गरी तीन प्याकेजमा ठेक्का सम्झौता भएको हो । हालसम्म ६० प्रतिशत ट्रयाक खोल्ने काम सकिएको आयोजना प्रमुख जोशीले बताए । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा समेत महाकाली करिडोर आयोजनालाई समावेश गरिएको छ । करिडोर निर्माणलाई प्राथमिकतामा राखिने नीति तथा कार्यक्रममा उल्लेख छ । कान्तिपुर

indreni vansa ghar
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.