धनगढी – कैलालीको कैलारी गाउँपालिकामा नाराबाजी गरिएको छ । केही वडाका वडाध्यक्षसहित नेपाली कांग्रेसका नेता कार्यकर्ताहरुले कार्यालयमा नाराबाजीका साथै घेराउ गरेका हुन ।

कांग्रेसबाटै निर्वाचित जनप्रतिनिधिले नेतृत्व गरिरहेको गाउँपालिकामा केही वडाध्यक्ष सहित कांग्रेसकै असन्तुष्ट पक्षहरुले नाराबाजी गरेका थिए । बजेट विनियोजनमा अध्यक्ष रामसमझ चौधरीले मनलाग्दी गरेको उनिहरुको आरोप छ ।


त्यसका साथै गाउँपालिकामा सुशासन नभएको तथा अपारदर्शी रूपमा खर्च हुने गरेकाले गाउँपालिकामा नाराबाजीका साथै कार्यालय घेराउ गरिएको गाउँपालिकाको ६ नं. वडाध्यक्ष प्रेमबहादुर चौधरीले जानकारी दिए । पालिकाले वडालाई सोझै डल्लो बजेट दिनुपर्ने तथा वडाले खर्च गर्न पाउनुपर्ने माग राखेको चौधरीको भनाइ छ ।
असन्तुष्ट समूहको नेतृत्व पालिका प्रवक्ता समेत रहेका वडा नं. ७ का वडाध्यक्ष दीपेन्द्र बमले गरेको बताइएको छ । तनाब उत्पन्न भएपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरी समेत परिचालन गरिएको छ ।
यसैबीच नेपाली कांग्रेसका जिल्ला सभापति नारायण दत्त भट्ट, उपसभापति खेमराज चौधरी, नेतृ रीता चौधरी, पालिका सभापति कृष्ण चौधरीसहित पालिका अध्यक्ष राजसमझ चौधरी, उपाध्यक्ष भागवती चौधरीसहित वडाध्यक्षहरु र असन्तुष्ट पक्षबीच छलफल चलिरहेको बताइएको छ ।
