खेती जोगाउन बगरको बास

महेन्द्रनगर – कञ्चनपुरको लालझाडी गाउँपालिका–४ खल्लापट्टिकी सिठ्ठो रानाको केही महिनायता दैनिकी फेरिएको छ । अचेल दोदा नदीको बगरमा भेटिन्छन्, उनि । बगरको बीचमा सानो छाप्रो छ । त्यहीँ छाप्रो उनको बासस्थान बनेको छ ।

maya metro hospital

नदीको पाँच कट्ठा बगर क्षेत्रमा उनले तरकारी खेती गरेका छन् । बगरमा लगाएको तरकारी कुर्न बगर छेउमा छाप्रो बनाएर बास बस्नु परेको सिठ्ठोले बताए । ‘वषौँदेखि बगरमा खेती गर्दै आएका छौँ, यहीँबाट घरखर्च चलाउँछौँ’, उनले भने, ‘माघदेखि जेठसम्म बगरमा खेती गर्छौं, अरू समयमा मजदुरी ।’

joshi vada pasal 2

श्रीमान् मीनबहादुर दिनभर तरभुजालगायत उत्पादन ट्र्याक्टरमा लगेर गाउँगाउँमा बिक्री गर्छन् । अट्ठाइस सदस्यीय रानाको संयुक्त परिवारको खर्च बगर खेतीबाटै चलेको छ । ‘जङ्गली जनावरबाट खेती जोगाउन हम्मेहम्मे हुन्छ, चोरी पनि हुने गरेको छ’, सिठ्ठोले भने, ‘जङ्गली जनावर र चोरीबाट उत्पादन जोगाउन छाप्रोमै बास बस्ने गरेका छौँ ।’ उनका अनुसार दिनमा आफू र राति श्रीमान् खेती हेर्नका लागि छाप्रोमा बस्ने गरेका छन् । बगरमा उत्पादित तरकारीबाट वार्षिक रू ६० हजारभन्दा आम्दानी हुने गरेको सिठ्ठोले जानकारी दिए ।

लालझाडी गाउँपालिका–४ डाँडापट्टिकी डुठ्ठो रानाको दैनिकी पनि यस्तै छ । उनका श्रीमान् शारदा रोजगारीको सिलसिलामा भारतको सिम्लामा छन् । छोरीसहित डुठ्ठो बगर खेती गर्छन् । उनले बगरमा काँक्रा, लौका, तरभुजा, फर्सीलगायत खेती गरेकी छन् ।

जङ्गली जनावर र चोरीबाट खेती जोगाउन रातदिन बगरमै बास बस्नु परेको उनले बताएइन् । ‘पाँच कट्ठा क्षेत्रमा खेती गरेकी छुँ, तयार भएको उत्पादन बिक्री गर्न थालेको साताभन्दा बढी भयो’, उनले भनिन्, ‘रातमा जनावर र चोरीबाट खेती जोगाउन जाग्राम बस्नुपर्छ, जनावर धपाउन ढ्याङ्ग्रो बजाउँछौँ ।’

तरकारी किन्न कतिपय ग्राहक बगरमै आउने उनको भनाइ थियो । यस वर्ष तरभुजा, काँक्रा, लौका, फर्सीलगायत तरकारी बिक्री गरेर रू १२ हजार आम्दानी गरिसकेको डुठ्ठोले जानकारी दिइन् ।

बगरमा व्यावसायिक तरकारी खेती गरिरहेका तटीय क्षेत्रका किसान खेती जोगाउन बगरमा बास बस्ने गरेका छन् । विद्युत्को सुविधा नहुँदा सोलार बालेर खेती कुर्ने गरिएको लालझाडीको डाँगाजाईंका किसान दानसिंह गिरीले बताए । ‘तरभुजा, काँक्रा चोरी हुने गरेका छन्, स्यालबाट पनि खेती जोगाउन मुस्किल छ’, उनले भने, ‘खेती जोगाउन राति जाग्राम बस्छौँ, दिनमा सुत्छौँ ।’

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.