अत्तरिया – कैलालीको गोदावरी नगरपालिका – ६ बडेहामा क्षतिग्रस्त भएको विद्युत पोल मर्मत हुन सकेको छैन । २ महिना अघि बर्षा संगै आएको हावाहुरीले ढलेको पोल मर्मत नभएको हो । पोल ढलेपछि उक्त पोलमा काठको टेको लगाएर तत्कालका लागि विद्युत सुचारु गरिएको भएपनि २ महिना वितिसक्दा पनि मर्मत भने गरिएको छैन ।

सो क्षेत्रमा अन्य २ वटा पोलमा पनि क्षति पुगेको छ । जसका कारण जुनसुकै वेला पनि उक्त पोल सडकमा ढल्न सक्ने जोखिम रहेको स्थानीय प्रदिप भट्टले बताए । उनले नजिकैको सडकमा मानिसहरुको आवतजावत भइरहने भएकाले पोल ढलेमा ठूलो क्षति हुन सक्ने खतरा रहेको बताए ।

‘ढलेको पोलमा टेको लगाइएको भएपनि मर्मत भएको छैन’ उनले भने ‘पोल ढलेपछि तत्काल पोलमा टेको लगाएर काम चलाइएको भएपनि पछि मर्मत गर्न वास्ता गरिएको छैन ।’ उनले पोलको मर्मतका लागि उक्त क्षेत्रमा विद्युत महशुल उठाउँदै आएको विरभद्र सहकारी र नो लाईट अत्तरियालाई आग्रह गर्दा पनि सुनुवाइ नभएको बताए ।
स्थानीय रमेश भट्टले विद्युत जस्तो सम्बेदनशिल क्षेत्रमा पनि लापरवाही गरिदा दुर्घटनाको जोखिम बढेको बताए । उनले हावाहरीको समयमा राम्रै पोलपनि ढलिरहने गरेकोमा आधा ढलेको पोल जुनसुकै समयमा पनि ढल्न सक्ने खतरा रहेको बताए । विद्युत कार्यालयले जानाजान जोखिमलाई निम्त्याइरहेको स्थानीयले बताएका छन ।

विरभद्र सहकारीका प्राविधिक मंगल चौधरीले मेन लाईन भएकाले आफूहरुले मर्मत गर्न नमिल्ने बताए । उनले यसको काम नेपाल विद्युत प्राविधिकरणबाट हुने बताए । उता नो लाईट अत्तरियाका इन्चार्ज सुनिल खड्काले सो क्षेत्रमा गुनासो आएको र, १/२ दिनमा मर्मत गरिने बताए ।
‘अस्तितिरको बर्षादको समयमा पोल टुटेको थियो । मैले पोल चेन्च गरिदिन्छु भनेको सो ठाउँमा पानी जमेकाले काम गर्न सकिएन’ उनले भने ‘त्यसपछि बनाउन बनाउँला भनेको कति धेरै काम हुन्छ । कहिले कता कहिले कता गर्दागर्दै ढिला भयो ।’ विद्युत प्राधिकरणले बजार क्षेत्रमा तुरुतै मर्मत गर्ने भएपनि ग्रामिण भेगमा भने कुनै समस्या आउँदा हप्तै, महिनौ लगाउने गरेको सो क्षेत्रका स्थानीयले गुनासो छ ।
विद्युत कटैती बढ्यो
पछिल्लो समय हावाहुरीको समय संगै गर्मी बढेकाले विद्युत लोड बढेर विद्युत ट्रिप हुने समस्या पनि बढेको छ । जसका कारण गर्मी समयमा घरी घरी बत्ती आउने जाने समस्या पनि यस सुरु हुन थालेको छ । पछिल्लो समय अत्तरिया धनगढी लगायतका क्षेत्रमा विद्युत माग बढीरहेको भएपनि सो अनुसार आपुर्ती नहुँदा विद्युत आउने जाने समस्याले सर्वसाधारणले हैरानी खेप्नु परेको छ ।
विद्युत प्राधिकरण प्रादेशिक कार्यालय अत्तरियाले धनगढीमा विद्युतको माग बढीरहेकाले अत्तरिया वितरण केन्द्रबाट पनि लाईन बिस्तार गरेको जनाएको छ । हाल अत्तरिया वितरण केन्द्रबाट गेटा, राजपुर, बोराडाडी क्षेत्रमा लाईन विस्तार गरिएको छ । जसका कारण यस क्षेत्रमा झन विद्युतको आपुर्ती घटेको छ ।
