टीकापुर – कैलालीमा चिसापानीदेखि अत्तरियासम्म सडक सुधार तथा स्तरोन्नतीका लागि सडक डिभिजन कार्यालय महेन्द्रनगरले काम थालेको छ । अत्तरिया चोकदेखि चिसापानीसम्मको सडकलाई दुई भागमा विभाजन गरेर सडक सुधार तथा स्तरोन्नतीको काम अघि बढाइएको हो ।
अत्तरियादेखि लम्कीसम्म ६५ किलोमिटर सडकको सुधार र आवश्यक स्तरोन्नतीका लागि चालु आर्थिक वर्ष सुरु भएदेखि नै सुधार र मर्मतको काम भइरहेको छ । सो खण्डमा पाइलेटिङ प्रोजेक्टको रुपमा गत वर्ष नै काम पुरा भएको सडक डिभिजन कार्यालय महेन्द्रनगरका ईन्जिनियर एवं सूचनाअधिकारी पीयुष चटौतीले बताए ।
उनका अनुसार सो खण्डमा अहिले सामान्य मर्मतको काम भइरहेको छ । मर्मत सुधारको जिम्मा लिएको कम्पनीले जेठभित्र काम पुरा गरिसक्ने गरी सम्झौता भएको उनले बताए ।