दार्चुला – दार्चुलामा गर्मी छल्न र चरनका लागि हिमाली क्षेत्रका वनमा लगिएका पशुचौपाया चिसोका कारण धमाधम मर्न थालेका छन । अपी हिमालको लोलु, रोखापु लगायतका वनक्षेत्रमा लगिएका चौपायाको अत्यधिक चिसोका कारण मृत्यु भएको हो ।
एक सातायताको निरन्तर वर्षा र हिमपातका कारण चिसो बढेको छ । अपीको लोलु पिलकन्द, धौलीओडारमा चरनका लागि लगिएको गाईगोरु मरेका हुन । चिसोका कारण चौपाया धमाधम मरेको स्थानीय मोहनसिंह लोथ्यालले बताए ।
उनका अनुसार वर्षा र हिमपात भएपछि ओत लाग्ने ठाउँ नपाउँदा चौपाया मरेका हुन । मरेका पशुहरूको व्यवस्थापन गरिएको छैन, जसकारण संक्रमण रोग फैलिने चिन्ता स्थानीयमा छ ।
उच्च लेकमा हिउँ पगालेर पानी खाने गरिन्छ । अपी हिमाल गाउँपालिका– २ का निवर्तमान अध्यक्ष मानसिंह धामीले पिलकन्द क्षेत्र, भवयदह लगायतका क्षेत्रमा चरिचरनका लागि लगिएका गाईगोरु चिसोका मरेको जानकारी दिए । यार्सागुम्बा संकलनका लागि आएका स्थानीयले आफूसँगै गाईगोरु चरनका लागि ल्याएका हुन ।
अपी बेसक्याम्प पुगेका पत्रकार महासंघ दार्चुलाका अध्यक्ष कृष्णसिंह धामी मरेका गाईगोरु व्यवस्थापन नगरिएको बताउँछन । ‘हिउँ पग्लिएर नदीमा मिसावट हुन्छ । मरेका गोरु यहीँ फालिएका छन । एकातिर दुर्गन्ध बढ्ने र अर्कोतिर यार्सागुम्बा संकलनमा गएकाहरू बिरामी पर्ने सम्भावना धेरै छ,’ उनले भने । चिसोका कारण दर्जनौँ भेडाबाख्रासमेत मरेका छन ।
स्थानीय हरिसिंह लोथ्याल अत्यधिक हिमपात भएपछि भेडीगोठ सार्नुपरेको बताउँछन । हिमपातमा चरिचरन क्षेत्र पनि भेटिँदैन । सेता गुराँस (चिमालो) खाएर अधिकांश भेडा बिरामी हुने र मर्ने गरेका छन ।