बैतडी – बैतडीको दशरथचन्द नगरपालिकाले वैदेशिक रोजगारीमा जाने व्यक्तिहरूलाई श्रम स्वीकृति दिने कार्य सुरु गरेको छ । यसअघि श्रम मन्त्रालयबाट मात्रै दिइने गरेको श्रम स्वीकृति पछिल्लो समय सुदूरपश्चिमका लागि धनगढीबाट दिइने गरेको थियो ।
तर गत २०७९ चैत १६ गते नेपाल सरकारले यही वैशाख १ देखी लागु हुनेगरी स्थानीय तहको रोजगार शाखा मार्फत श्रम स्वीकृति दिने गरि निर्णय गरेको थियो ।
उक्त निर्णयका आधारमा दशरथचन्द नगरपालिकाले शुक्रबार पहिलो पटक कतार जान इच्छुक दशरथचन्द नगरपालिका – ६ का कोमल राम महरलाई श्रम स्वीकृति प्रदान गरिएको नगरपालिकाका सूचना अधिकारी राजेन्द्र विष्टले बताए ।
उनलाई नगरप्रमुख पुस्कर राज जोशीले श्रम स्वीकृति हस्तान्तरण गरेका थिए । नगरपालिकामै श्रम स्वीकृति पाएपछि निकै सहजता महसुस गरेको वैदेशिक रोजगारीमा जान लागेका महरले बताए ।