बैतडी – बैतडीको डिलाशैनी गाउँपालिका–२ धौँकुचेमा सुरेश भकत बोहराको परिवार एक सानो पसल व्यवसाय सञ्चालन गरेर बसेको छ । उक्त व्यवसाय गरेका सुरेश भकत अहिले ३८ वर्षका भए । १४ वर्षको उमेर देखी व्यवसायमा जोडिएका भकतले अहिलेसम्म सबै प्रकारका पशुपन्छी पालन गरिसकेका छन ।
उनले बाख्रा, भैँसी, गोरु, घोडा, सुँगुर, कुकुर, खरायो, कुखुरा, कालिज, हाँस, टर्की, च्याखुरा, मौरी लगायत यस क्षेत्रमा पालिने सबै पशुपन्छी व्यवसायीक रुपमा पालन गरेपनि कुनैमा सफल हुन सकेका छैनन् । तर उनले विगत १५ बर्ष यता सञ्चालन गरेको कुकुर पालनले भने उनलाई निरन्तर आम्दानी दिइरहेको छ ।
उनले भने ‘स्थानीय बजार धान्ने गरेर ठिकै मात्रामा व्यवसाय सञ्चालन गरेको हुँ, कुनैपनी पशुपन्छी व्यवसायमा सफलता प्राप्त गर्न सकिन, मैले जीवनमा नगरेको काम सायदै होला तर कुकुर पालनमा भने म सफल भएजस्तो लाग्छ ।’
पशु पालनमा सफलता प्राप्त गर्न नसकेका भकतले अहिले आफ्नी छोरी लक्ष्मीलाई पशु विज्ञान विषय पढाईरहेका छन ।
उनले पालन गरेको बेलायती कुकुरको छाउरा ८ हजार बढी रकममा बिक्री हुन्छ । उनि उक्त छाउरा बिक्री गरेर मात्रै वार्षिक ८० हजार रकमसम्म आर्जन गर्दछन् । उनले कुकुरका माउ भारतको पिथौरागडबाट ल्याएको सुनाए । आफूले पालेका कुकुरले वर्षमा २ पटक बच्चा पाउने गरेको उनले बताए ।
उनले पशुपन्छी पालन मात्रै नभएर सबै प्रकारको व्यापार समेत गरेको सुनाए । विगतमा रेडियो, टिभी, टेप रेर्कडर बिक्री मर्मत व्यवसाय, होटल व्यवसाय र अन्य उपभोग्य बस्तुको व्यापार समेत गरेका उनले व्यवसायमा समेत खासै सफलता प्राप्त नगरेपछि अहिले अटो चलाउन थालेका छन । आधा रकम ऋण निकालेर ६ लाख ५० हजारमा अटो खरिद गरेका भकत अटो व्यवसाय बाटै दैनिक जीवनयापन गर्छन ।
भकतले १५ वर्षको उमेरमा १४ वर्षकी अमिता बोहरासँग बाल विवाह भएको बताए । भकतको व्यवसायमा अमिताले साथ दिँदै आएकी छन । उनकै सक्रियतामा भकतले २ ठाउँमा करिब २० रोपनी जमिन खरिद गरेका छन ।
कलाकारिता क्षेत्रमा समेत सक्रिय रहेका भकत मेला महोत्सवहरूमा नाटक देखाउने तथा बेलाबेलामा घरैमा मान्छेहरू जम्मा गरेर वाद्यवादनका साधन बजाउँदै गीत सङ्गीतमा व्यस्त देखिने गरेका छन । (रेडियो नेपालबाट)