बैतडी – बैतडीको दशरथचन्द र पाटन नगरपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत आउने भएका छन् । आइतबार संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले १६ जना उपसचिव पदस्थापन तथा सरुवा गरेको थियो । सो आधारमा दशरथचन्द नगरपालिकामा हरिबहादुर भुजेल र पाटन नगरपालिकामा अर्जुन शर्मा प्रमुख प्रशासकिय अधिकृतका रुपमा आउन लागेका हुन ।

प्रमुख प्रशासकिय अधिकृत नहुँदा दुवै नगरपालिकामा आर्थिक कारोबारमा समस्या भएको थियो । नगरपालिका अधिकृत विहिन हुँदा विकास निर्माणका कामकाज पनि रोकिएका थिए । दुवै नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रुपमा मन्त्रालयले उपसचिव खटाएपछि कामकाजमा सहजता आउने विश्वास लिईएको छ ।

पाटनमा यो भन्दा पहिला आएका उपसचिव ओमप्रसाद पाण्डे एक महिना नहुँदै सरुवा भएपछि पाटन नगरपालिका हाकिम विहिन भएको थियो । भने दशरथचन्द नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत विक्रमबहादुर चन्द अनिवार्य अवकाशमा परेपछि दशरथचन्द नगरपालिका पनि हाकिम विहिन बनेको थियो ।
नयाँ प्रमुख प्रशासकिय आएपछि लामो समयदेखि रोकिएका भुक्तानीका कामहरु सुचारु हुने नगरपालिकाहरुले जनाएका छन ।