अत्तरिया – कैलालीको अत्तरियामा व्यवसायीक भैंसी पालन तालिम सुरु भएको छ । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था शाखा कार्यालय अत्तरियाको आयोजनामा ३ दिने भैसी पालन तालिम सुरु भएको हो ।

तालिमको आइतबार एक कार्यक्रमका बीच गोदावरी नगरपालिका वडा नम्बर २ का वडा सदस्य डबल साउँदले उद्घाटन गरेका छन । उद्घाटन कार्यक्रममा बोल्दै उनले भैंसी पालन गरिरहेका महिलाहरुलाई दिइने तालिमले थप दक्षता हासिल हुने बताए । उनले तालिममा सिकेका सीप अन्य महिलाहरुलाई पनि सिकाउन सहभागिहरुलाई आग्रह गरे ।

निर्धन उत्थान लघुवित्तका प्रदेश प्रमुख गोकर्ण प्रसाद उपाध्यायले संस्थाको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगत ३० जना महिलाहरुलाई भैंसी पालन तालिम दिन लागिएको बताए । उनले संस्थामा आवद्ध महिलाहरुलाई बिभिन्न समयमा कृषि सम्बन्धि तालिम दिदै आएको बताए ।

२०४९ सालमा स्थापना भएको निर्धन उत्थान लघुवित्तका हाल देशभर ७७ वटै जिल्लामा १५० वटा शाखा रहेका छन । जसअन्तरगत सुदूरपश्चिममा मात्रै २० वटा शाखा रहेको प्रदेश प्रमुख उपाध्यायले बताए । उनले अत्तरिया शाखामा ३२ सय महिला आवद्ध रहेको बताए ।
तालिममा भैंसी पालन गरिरहेका संस्थाका सदस्य महिलाहरु सहभागि रहेको अत्तरिया शाखाका प्रमुख सुरेन्द्र प्रसाद चौधरीले जानकारी दिए । उनले कर्जाको सहि सदुपयोग गराउनको लागि संस्थामा आवद्ध महिलाहरुलाई तालिम दिन लागेको बताए ।
तालिममा सहभागि धना देवी बिष्टले आफूले लामो समय देखि भैंसी पालन गरिरहेको भएपनि भैंसी पालन सम्बन्धी प्राविधिक ज्ञान सिक्न तालिममा सहभागि भएको बताइन् ।