प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठबीच भेटवार्ता भएको छ । सुदूरपश्चिम सरकार विस्तारको विषयमा शनिबार उनीहरूबीच छलफल भएको हो । छलफलमा नागरिक उन्मुक्ति पार्टीका सुदूरपश्चिमका सांसदहरू पनि उपस्थित थिए ।


पार्टी प्रवक्ता दामोदर पण्डितले प्रधानमन्त्रीसँग समसमायिक विषयमा छलफल भएको बताए । उनले सुदूरपश्चिम सरकार विस्तारको क्रममा रहेको र त्यसमा नागरिक उन्मुक्तिले पाउने भागबण्डाका विषयमा छलफल भएको बताए । ‘सुदूरपश्चिम सरकार विस्तारको क्रममा छ । सरकारमा हाम्रो उचित सहभागिता हुनुपर्छ भनेका छौं,’ उनले भने ।

प्रवक्ता पण्डितले सुदूरपश्चिम सरकारमा पार्टीले दुई मन्त्रालय दाबी गरेको बताए । ’सुदूरपश्चिम सरकारमा हामीले एक राज्य मन्त्री र दुई मन्त्री पाउनुपर्छ भनेका छौं । त्यसो नभए हामी सरकारमा जाँदैनौं,’ उनले भने ।

उनले सामाजिक विकास मन्त्रालय र भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय आफूहरूले पाउनुपर्ने दाबी गरे । त्यस्तै डिल्लीबजार कारागारमा रहेका पार्टीका संरक्षक रेशम चौधरीको रिहाइका विषयमा पनि छलफल भएको थियो । सर्वोच्च अदालतमा पटक–पटक पेसी सर्दै आएको भन्दै अध्यक्ष श्रेष्ठले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको प्रवक्ता पण्डितले बताए ।