कञ्चनपुर – कञ्चनपुरमा सशस्त्र प्रहरीका सईमाथी खुकुरी प्रहार भएको छ । दोधारा चाँदनी नगरपालिकाको बोर्डर आउट पोस्ट (बीओपी) मा ड्युटीमा खटिएका कञ्चनभोजस्थित बीओपीका प्रमुख सई नरेन्द्र चैंसिरमाथि खुकुरी प्रहार भएको हो ।

पोस्टनजिकै शुक्रबार राति साढे १० बजे अज्ञात समूहले सई चैंसिरलाई खुकुरीले हानेको बताईएको छ । खुकुरी प्रहारबाट सई चैंसिरको बायाँ पाखुरामा चोट लागेको छ ।


प्रहरीले खुकुरी प्रहार गर्ने गिरोहका दुई जनालाई शनिबार पक्राउ गरेको छ । स्थानीय जय बैच र विक्रम नेपालीलाई पक्राउ गरिएको ईलाका प्रहरीका इन्चार्ज प्रहरी निरीक्षक अर्जुन साउदले बताए ।

उनका अनुसार खुकुरी प्रहार गर्ने रोहन बैच भने फरार छन । उनको खोजी कार्य चलिरहेको छ । उनी भारतर्फ भागेको आसंका गरिएको छ । प्रहरी निरिक्षक साउदले खुकुरी प्रहार हुँदा १०÷१२ जनाको समुह रहेको बताएका छन । उनले अन्यको पनि खोजी भइरहेको बताएका छन ।
शुक्रबार राती गस्ती सकेर बिओपीमा फर्किरहेको सशस्त्र प्रहरीको टोलीमाथि होटेलमा बसिरहेका केही युवाहरुले आक्रमण गरेका थिए । ती युवा एक आपसमै झगडा गरिरहेका थिए । अबेर राती किन झगडा गरिरहेको भन्दै सई चैँसिरले सम्झाउन खोज्दा उनीमाथि खुकुरी प्रहार भएको थियो ।