अत्तरिया – कैलालीको गोदावरी क्षेत्रको वन अतिक्रमणको चपेटामा परेको छ । अत्तरिया बजार संग जोडिएका वन बिभिन्न संघसस्था, पार्टी, व्यक्तिका नाममा अतिक्रमणको चपेटामा परेका हुन । यस क्षेत्रमा रहेका सुरक्षा सामुदायिक वन, दुर्गालक्ष्मी सामुदायीक वन, चौकीडाँडा सामुदायिक वन विभिन्न वाहानामा अतिक्रमण हुने गरेका छन् ।

यस क्षेत्रको वन सबैभन्दा बढी संघ सस्थाको नाममा अतिक्रमण भएको छ । बिभिन्न संघसस्थाहरुले वन भित्र खालि ठाउँ रहेको भन्दै आ– आफ्ना कार्यालय भवन निर्माण गरेर वन अतिक्रमण गर्दै आइरहेका छन् । वनको अतिक्रमण बढेपनि सम्बन्धित सामुदायिक वनका पदाधिकारी र वन कार्यालयहरु भने मौन बस्ने गरेका छन् ।

डिभिजन वन कार्यालय धनगढीले केहि दिन अघि गोदावरीको चौकिडाँडामा वन अतिक्रमण गरेको भन्दै सुकुम्बासीका सयौं टहरा भत्काएको भएपनि राजमार्ग किनारामै वन अतिक्रमण गरेर बनेको संघसस्थाका ठूला–ठूला पक्की संरचना भत्काउन भने खुट्टा कमाउने गरेको छ ।
पार्टी कार्यालय पनि वन भित्र शिलान्यास
यस क्षेत्रमा वन अतिक्रमण बढिरहेका बेला नेपाली कांग्रेसले पार्टी कार्यालय पनि वन क्षेत्रमै निर्माण गर्न शिलान्यास गरेको छ । नेपाली कांग्रेसको सुदूरपश्चिम प्रदेश कार्यालय (वीपी स्मृति भवन) सुरक्षा सामुदायिक वन क्षेत्रमा निर्माण गर्न लागिएको हो ।
उक्त भवनको मंगलबार कैलाली क्षेत्र नम्बर ४ का प्रतिनिधि सभा सदस्य एवम् कांग्रेस सुदूरपश्चिम प्रदेश सभापति वीर बहादुर बलायरले शिलान्यास गरेका छन् ।

गोदावरी नगरपालिका – १ मा पर्ने सुरक्षा सामुदायिक वन क्षेत्रमा उक्त भवन निर्माण गर्न लागिएको भएपनि कांग्रेसले भने उक्त क्षेत्र लामो समय देखि आफूहरुको भोगचलनमा रहेको दावी गरेको छ । कांग्रेसका एक नेताले सो क्षेत्रमा वन जस्तो देखिएपनि सो क्षेत्र लामो समयदेखि आफूहरुले भोगचलनमा लिएको बताए । ‘अत्तरियामा सबैले यसरीनै भवन बनाएका छन्’ ति नेताले भने ‘हामीले देशकै गौरव वीपी स्मृति भवन बनाएका हौ । यसमा विरोध गर्नुको कुनै तुक छैन । यसलाई राजनीतिकरण गरिनु हुन्न ।’
भवन निर्माणाधिन स्थलको चारैतिर सालका रुख रहेका छन भने भवनको लागि रेखाकंन गरेकै क्षेत्रमा पनि सालका बुट्यान रहेका छन् ।
सो उद्घाटन कार्यक्रममा स्वयः वनकी अध्यक्ष लक्ष्मी भण्डारी पनि सहभागी रहेकी थिइन् । तर, उनले आफूहरुले भवन वनाउनका लागि कुनै सम्झैता नगरेको बताइन् । उनले सो क्षेत्रमा केही व्यक्तिले भने पहिले देखि अतिक्रमण गरेको बताइन् । ‘सो क्षेत्र वनमा पर्ने भएपनि त्यसमा पहिले देखि केही व्यक्तिले अतिक्रमण गरेका थिए’ उनले भनीन् ‘हामीले तिनीहरुलाई हटाएका थियौ ।’
हाल वन क्षेत्रमा पार्टी कार्यालयको भवन वनाउन लागिएको भन्दै सामाजिक संजालमा पनि चर्को विरोध गर्न थालिएका छ । उनीहरुले वन अतिक्रमण भएको भन्दै सुकुम्बासिलाई हटाएर पार्टी कार्यालय बनाउन थालिएको भन्दै आलोचना गर्न थालेका हुन् ।
उता डिभिजन वन कार्यालय धनगढीका निमित्त प्रमुख भीम ढकालले वनमा निर्माण भइरहेको संरचना रोक्नका लागि आफूले निर्देशन दिइसकेको बताए । उनले चौकिडाँडामा एकैपटिक सयौंको संख्यामा मानिसहरु आएर अतिक्रमण हुन थालेपछि तत्काल एक्सन लिइएको बताए । ‘एकैपटक ठूलो संख्यामा मानिसहरु आएर प्लटिङ नै गरेर वन अतिक्रमण गर्न थालेपछि तत्काल एक्सन लिइएको हो ।
एक्सन नलिइएको भए त्यहाँ अझै धेरै मानिस आउने सम्भावना थियो’ उनले भने ‘अत्तरियामा अन्य क्षेत्रमा पनि वन अतिक्रमण गरेर भौतिक संरचना निर्माण गरिएका भएपनि तिनलाई हटाउन अर्कै किसिमको स्टटिजी बनाउनु पर्ने हुन्छ । पार्टी कार्यालयको हकमा मैले सव डिभिजनलाई काम रोक्न भनिसकेको छु ।’
