दार्चुलामा शिक्षकलाई अन्तरविद्यालय सरुवा गरिने

दार्चुला – दुहुँ गाउँपालिकाले एउटै विद्यालयमा पाँच वर्ष शिक्षण गरेका शिक्षकलाई सरुवा गर्ने तयारी गरेको छ । अन्तरविद्यालय सरुवाका लागि गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखामा निवेदन दिन शिक्षकहरूलाई सूचित गरेको छ ।

maya metro hospital

सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरूको समयानुसार अनिवार्य सरुवा नहुँदा त्यसको असर विद्यार्थीको सिकाइमा परेकाले एउटै विद्यालयमा लामो समयसम्म पठनपाठन गराउँदा शिक्षकमा आलस्य बढेको पाइएकाले गाउँपालिकाले सो निर्णय गरेको जनाएको छ ।

joshi vada pasal 2

पाँच वर्ष एउटै विद्यालयमा शिक्षण गराएका शिक्षकको अन्तरपालिका सरुवाको व्यवस्था गरेको गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख लोकेन्द्रबहादुर बमले जानकारी दिए । उनले सेवाको लामो अवधिसम्म एउटै विद्यालयमा रहँदा शिक्षकको नियमितता, शिक्षण कौशल र पेसाप्रतिको उत्साहमा कमी आएकाले गाउँपालिका शिक्षा नियमावली, २०७६ मा भएको व्यवस्थाअनुसार सरुवा गर्न लागिएको बताए ।

शिक्षा नियमावली, २०७६ को पहिलो संशोधनको नियम ५७ मा गाउँपालिकाभित्र एउटै विद्यालयमा पाँच वर्ष सेवा अवधि पुगेका शिक्षकलाई अन्तरविद्यालय सरुवा गर्ने उल्लेख छ ।

सामुदायिक विद्यालयमा कार्यरत स्थायी, करार र राहत पदमा कार्यरत शिक्षकको अनुभव तथा असल अभ्यासको आदानप्रदानका लागि पनि सो कार्य अघि बढाइएको शिक्षा शाखा प्रमुख बमले बताए । शिक्षकका सरुवाका लागि सम्बन्धित विद्यालयको व्यवस्थापन समितिको निर्णयसहित गाउँपालिका कार्यालयमा निवेदन पेस गर्न भनिएको छ ।

सामुदायिक विद्यालयमा भर्ना गर्न अपिल

सो गाउँपालिकामा कार्यरत कर्मचारी तथा स्थायी ठेगाना भएका शिक्षक, कर्मचारी, जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक सङ्घका पदाधिकारीलाई आफ्ना छोराछोरी अनिवार्य रूपमा सामुदायिक विद्यालयमा भर्ना गर्न सूचना जारी गरिएको छ ।

सामुदायिक विद्यालयमा सरकारको लगानीअनुसार प्रतिफल प्राप्त हुन नसकेको अवस्थामा शैक्षिक गुणस्तर सुधार गर्न आफ्ना छोराछोरीको अनिवार्य सामुदायिक विद्यालयमा भर्ना गर्न आग्रह गरिएको शिक्षा शाखा प्रमुख बमले बताए । सामुदायिक विद्यालयमा छोराछोरी भर्ना नगर्ने शिक्षक, कर्मचारी, जनप्रतिनिधि र अभिभावकलाई स्थानीय सरकारबाट प्रदान गरिने सुविधाबाट वञ्चित गराइने बताइएको छ । (गोरखापत्रबाट)

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.