युक्रेन– रुसी आक्रमणमा परी पाँच जना बालबालिका सहित २६ जना युक्रेनी मारिएका छन् । युक्रेनमाथि करिब दुई दर्जन क्षेप्यास्त्र प्रहार गरेर रुसले ती गैरसैनिक मारेको युक्रेनी अधिकारीहरूले बताएका छन् ।
मध्य युक्रेनको ऐतिहासिक शहर उमानको आवासीय क्षेत्रमा रुसले हवाई हमला गरेको हो । भत्केका भवनका भग्नावशेषबाट मृतकका शव निकालिएका हृदयविदारक दृश्य एएफपीका पत्रकारले देखेका थिए । भग्नावेशषबाट बालबालिकाका शव पनि निकालिएका थिए ।
यो वर्ष शिशिर यामको प्रारम्भमा ऊर्जा र इन्धन प्रवाह गर्ने युक्रेनी पूर्वाधारमा आक्रमण गरेर रुसले जनजीवन कष्टकर पारेको थियो । केही समयका लागि आक्रमण बन्द गरेको रुसले नागरिक संरचना तथा आवासमा पुनः हमला थालेको छ ।