धनगढी – कञ्चनपुरको एक पालिकाका प्रमुख प्रशासकिय अधिकृत सहित ९ जना विरुद्ध मुद्धा दायर भएको छ । जिल्लाको भिमदत्त नगरपालिकाका तत्कालिन प्रमुख प्रशासकिय अधिकृत पुष्करप्रसाद भट्टसहित ९ जना विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्धा दायर भएको हो ।
अख्तियारले भट्टसहित इञ्जीनियर हिमालयसिंह ऐर, लेखापाल गोविन्दराज उपाध्याय, अधिकृत सुवास अधिकारी, नायबसुब्बा विष्णुदेव भट्ट, लेखापाल दीपेन्द्र चौधरीलगायतविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।


नगरपालिकाले आर्थिक वर्ष २०७८÷७९ मा महाकाली नदीको नदीजन्य पर्दाथ (ढुङ्गा, गिट्टी, बालुवा, ग्राभेल) को बोलपत्र आह्वान गर्दा ठेकेदारलाई गैरकानुनी आर्थिक लाभ हुने गरी बदनियतपूर्ण ढङ्गले आर्थिक लाभ गराई राज्यलाई हानी–नोक्सानी पु¥याएको पुष्टि भएकाले मुद्दा दायर गरेको अख्तियारद्वारा जारी आरोपपत्रमा उल्लेख गरिएको छ ।
शुल्क उठाउने ठेक्कामा भीमदत्त नगरपालिकाले भवानी कन्स्ट्रक्सन प्रालि कञ्चनपुरसँग ठेक्का सम्झौता गर्दा पाँच करोड ४३ लाख बराबरको राजस्व हानी–नोक्सानी गरेको उल्लेख गर्दै आरोपपत्र दायर गरेको अख्तियारले जनाएको छ । भीमदत्त नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भट्ट र लेखा अधिकृत उपाध्यायले एक करोड ९५ लाख ७२ हजार बराबरको नगरपालिकाको राजस्व चुहावट गरेको आरोपपत्रमा उल्लेख गरिएको छ ।
भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ को खण्ड (क) र (ख) बमोजिमको कसुर गरेको पुष्टि भएकाले भीमदत्त नगरपालिकाको तर्फबाट सम्झौता गर्ने भट्ट र सम्झौतापत्रको साक्षीमा रही हस्ताक्षर गर्ने उपाध्यायसँग एक करोड ९५ लाख ७२ हजार बिगो माग गरिएको छ ।
त्यसैगरी उनीहरूलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (झ) बमोजिमको कैद सजाय हुन र सोही ऐनको दफा ७ बमोजिम चुहावट भएको राजस्व रकमको दोब्बर जरिवानासमेत माग गरिएको छ ।

















