खाेज्नुहाेस

बैतडी दुर्घटनाका पीडितलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्न सांसद जोशीको माग

Image

अत्तरिया – नेकपा (एकीकृत समाजवादी)का सांसद भानुभक्त जोशीले बैतडीको झौंखेलमा जीप दुर्घटनामा परी आफन्त गुमाएका पीडितहरुका लागि तत्काल उचित क्षतिपूर्तिको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । बुधबार प्रतिनिधिसभा बैठकको सुरुमै बोल्दै उनले रोजगारीका लागि भारतमा गएका बझाङका मजदुरहरु सवार सो जीप दुर्घटनामा परी ६ जनाको ज्यान गएको उल्लेख गर्दै पीडितलाई तत्काल क्षतिपूर्तिको उचित व्यवस्था गर्न गृह मन्त्रालयसँग माग गरेका हुन् ।

navjiwan hospital

चैत्र २८ गते साँझ जीप दुर्घटना भएको थियो । सम्बन्धित पक्षले उचित क्षतिपूर्ति नदिएपछि पीडित पक्षले अहिले शव समेत बुझेका छैनन् । सांसद जोशीले सो समस्या तत्काल समाधान गरी पीडितलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराए । ‘हिजो २८ गते बेलुकी बझाङ जिल्लाबाट भारतमा रोजगारी गर्न गएका मजदुरहरु भारतबाट नेपाल फर्कदै गर्दा बझाङबासी दाजुभाईहरु जीप बैतडी जिल्लाको झौखेलमा दुर्घटना हुँदा दुर्घटनामा ६ जना मानिसहरुको घटनास्थलमै मृत्यु भएको छ । ५ जना घाइते भएका छन् । असाध्यै ठूलो विभत्स घटना भएको छ सभामुख महोदय ।

attariya hospital

अहिले पनि पीडित पक्षले आफूलाई न्याय पाउनका लागि क्षतिपूर्ति पाउनका लागि बाटोघाटो बन्द गरेर बसेका छन्’ उनले भने, ‘लासहरु बैतडी जिल्लाको पाटनमा लिएर राखिएका छन् । त्यसो भएको हुनाले म गृह मन्त्रालयमार्फत् उनीहरुको उचित क्षतिपूर्तिको व्यवस्थासहित यो दुखद घटनाको समाधानका लागि तत्काल गृह मन्त्रालयको ध्यानाकर्षण गराउन चाहन्छु ।’ पीडित पक्षले क्षतिपूर्ति नदिएपछि बैतडीको पाटनमा लास राखेर सडक बाटो अवरुद्ध पारिरहेका छन् । तर सरकारले सो विषयमा चासो नदिएकोमा सांसद जोशीको आपत्ति छ ।