खाेज्नुहाेस

कैलालीमा भएको नविल बैंक लुटपाटको घटना रहस्यको गर्भमै

Image

अत्तरिया – कैलालीमा नविल बैंकको २ करोड ३० लाख ६० हजार रुपैयाँ लुटपाट भएको घटना अझै रहस्यको गर्भमै रहेको छ । अझै पनि घटनाको अनुसन्धान जारी रहेको प्रहरीले बताउने गरेको भएपनि यो घटनाको रहस्यको पर्दा भने खुल्न सकेको छैन ।

२०७० साल मंसिर २५ गते नविल बैंक कञ्चनपुरबाट नेपाल राष्ट्र बैंक धनगढीमा राख्न ल्याउँदै गरेको २ करोड ३० लाख ६० हजार रुपैयाँ कैलालीको मालाखेतीमा गाडीबाट लुटिएको थियो । नाटकिय शैलीमा भएको उक्त लुटपाटको घटनाको अनुसन्धानमा प्रहरीले लामो समय खर्च गरेपनि उपलब्धि भने शून्य छ ।

attariya hospital

प्रहरीले उक्त घटनाको अनुसन्धानका लागि थुपै्र पटक अनुसन्धान टोली गठन गरेपनि कुनै पनि टोलीले अपराधी पहिचान गर्न सकेका छैनन् । घटनाको अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले अनुसन्धान गर्दा समेत केही पत्तो लागेको छैन ।

प्रहरीले हाल पनि उक्त घटनाको अनुसन्धान जारी रहेको बताएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव निरिक्षक एवम सूचना अधिकारी भरत बहादुर चौधरीले उक्त घटनालाई प्रहरीले गम्भिर रुपमा लिएको बताए ।

‘यो घटनाको छानबिनका लागि धेरै खोज अनुसन्धान भइसकेका छन । तर, जती गर्दा पनि अपराधि पत्ता नलागेपछि अहिले यसको अनुसन्धान भने जारी नै छ’ उनले भने ‘अहिले यसलाई कसरी अगाडी बढाउने भन्ने बिषयमा नयाँ प्रदेश प्रमुखको निर्देशन अनुसार हुन्छ ।’

navjiwan hospital

घटनाको अनुसन्धानका लागि २०७६ सालमा सिआइवीको टोलीले पनि अनुसन्धान गरेको थियो ।

यस्तो थियो घटना

नविल बैंक कञ्चनपुरले म १ ज १४८ नम्बरको जीपमा नेपाल राष्ट्र बैंक धनगढीमा रकम जम्मा गर्न ल्याउदै थियो । जीपमा बैंकका चार जना कर्मचारी पनि सवार रहेका थिए । जीपमा चालक बीरबहादुर चन्द, बैंकका कर्मचारी सत्यमान तामाङ्ग, गार्ड गंगादत्त भट्ट र अडिटर शुक्रराज भट्टराई रहेका थिए ।

जीपमा सवार रहेकाहरुले दिएको बयानका आधारमा उक्त जीप कैलालीको मालाखेतीमा पुगेपछि ट्राफिक प्रहरीको पोसाकमा रहेका व्यक्तिले रोकेका थिए ।

ट्राफिक प्रहरीको जस्तो कपडा लगाएको ५ जनाको समूहले चेकजाँच गर्ने भन्दै गाडी रोकेपछि हतियार देखाएर लुटेको गाडीमा रहेका कर्मचारीहरुले बताएका थिए । ट्राफिकको पोसाकमा रहेका उनीहरुले लाइसेन्स चेक गरेर पेस्तोल देखाएर गाडीलाई जंगलमा लगेर गएका थिए । त्यसपछि लुटेराले गाडीमा भएको रकम लुटेर गाडी र बैंक कर्मचारीलाई घटनास्थलबाट पश्चिम कञ्चनपुरको कलुवापुर जंगलमा छोडेर गएका थिए । बैंकका कर्मचारी आँखामा पट्टी बाँधिएको अवस्थामा भेटिएका थिए ।

प्रहरीले जीपमा सवार बैंकका कर्मचारीमाथि पनि संका गर्दै सोधपुछ गर्दा पनि कुनै क्लु फेला पार्न सकेन् । जसका कारण घटना भएको ९ वर्ष बितिसक्दा पनि उक्त घटना रहस्यकै गर्भमा रहेको छ ।