बैतडी – नेकपा एमालले सञ्चालन गरेको मिसन ग्रासरुट अभियानमा गाउँपालिकाका कर्मचारी, शिक्षक समेत सहभागी रहेका पाइएको छ । बैतडीको दोगडाकेदार गाउँपालिकामा कार्यरत कृषि प्राविधिक कविराज भट्ट, शिक्षक नरेन्द्र कुँवरलगायत सहभागी रहेको पाइएको हो ।
बिहिबार दोगडाकेदार गाउँपालिका २ मा सञ्चालन भएको मिसन ग्रासरुट कार्यक्रममा भट्ट र कुँवर सहभागी रहेका पाइएका हुन् । वडा नम्बर १ मा कार्यरत रहेका प्राविधिक भट्ट मिसन ग्रासरुट अभियानमा वडा नम्बर दुईमा पुगेका हु्न् । प्राविधिक भट्ट मिसन ग्रासरुटमा आफूलगायत सहभागी तस्वीर सार्वजनिक गर्दै ‘मिसन ग्रासरुट पार्टी सुदृढीकरण तथा विस्तार अभियान वडा न २ को बैठक !!’ भनेर स्टाटससमेत राखेका छन् ।


भट्टले आफूले सार्वजनिक गरेको पोष्ट गाउँपालिका अध्यक्ष चक्र कार्की, उपाध्यक्ष पार्वती कार्की लगायतलाई ट्यागसमेत गरेका छन् ।
यस्तै, भूमिराज आधारभूत विद्यालय, ढिकगाडमा कार्यरत शिक्षक कुँवर पनि उक्त कार्यक्रममा सहभागी छन् ।
गाउँपालिकाबाट तलब खाने कर्मचारीले यसरी पार्टीका कार्यक्रममा खुल्लमखुल्ला उपस्थित हुने प्रचारप्रसार गर्दासमेत सम्बन्धित निकाय भने मौन रहेको छ ।
नेकपा एमाले दोगडाकेदार गाउँपालिका अध्यक्ष काशी विष्टले कर्मचारी,शिक्षकले पनि पार्टीको कार्यक्रममा सहभागी हुन मिल्ने बताए । उनले भने ‘कर्मचारीहरू पनि पार्टीका संगठनमा आवद्ध रहेका हुन्छन्, उनीहरूले पनि कार्यक्रममा आउन मिल्छ ।’
यता दोगडाकेदार गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रबिन्द्रबहादुर धामीले भने कर्मचारी, शिक्षक मिसन ग्रास रुट अभियानमा सहभागी भएकोबारे जानकारी नभएको बताए । उनले भने, ‘कर्मचारी उक्त कार्यक्रममा रहेकोबारे हामीलाई जानकारी छैन, गाउँपालिकाको कर्मचारीले यसरी पार्टीको कार्यक्रममा जान नहुने हो।, म बुझ्छु के रहेछ ।’














