खाेज्नुहाेस

महाकालीमा डुंगा सञ्चालन गर्न भारतीय सुरक्षाकर्मीको अवरोध

Image

बैतडी – बैतडीको तल्लोस्वराडस्थित नेपाल–भारत सीमा नदी महाकालीमा डुंगा सञ्चालन गर्न भारतीय पक्षले रोक लगाएको छ । जिल्लाको पञ्चेश्वर गाउँपालिकास्थित हल्दु विनायक घाटमा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले डुंगा सञ्चालनमा रोक लगाएको हो ।

यहाँका अन्य घाटहरुमा सहजै रूपमा डुंगा सञ्चालनमा रहे पनि हल्दुविनायक घाटमा एसएसबीले एक वर्षदेखि अवरोध गर्दै आएको डुंगा चालक सुरेन्द्र चन्दले बताए । पञ्चेश्वर गाउँपालिकाले महाकालीमा रहेका घाटमा डुंगा सञ्चालनका लागि ठेक्का खोलेर सुरेन्द्रलाई अनुमति पाएको भए पनि भारतीय पक्षले अवरोध गर्दा समस्या भएको छ ।

attariya hospital

गाउँपालिकाले खोलेको ठेक्कामा ६६ हजार रकम तिरेर डुंगा चलाउने अनुमति पाएको भए पनि डुंगा चलाउन खोज्दा एसएसबीले रोक्ने गरेको सुरेन्द्रले बताए । ‘महाकालीमा डुंगा चलाएरै जीवनयापन गर्दै आएको थिएँ । गतवर्ष देखि एसएसबीले डुंगा सञ्चालन गर्न नदिँदा रोजिरोटी नै बन्द भएको छ’, उनले भने ।

एसएसबीले भारतीय प्रशासनको पनि अनुमति चाहिने भन्दै सञ्चालनमा अवरोध गरेको चन्दले बताए । डुंगा निर्माणका लागि १ लाख बढी र अनुमतिबाट लागि ६६ हजार खर्च भएको छ । ‘लाखौं खर्च गरेर ठेक्का लिए। सञ्चालन गर्न नपाउँदा डुंगासमेत बिग्रिँदै गएको छ’, उनले भने ।

navjiwan hospital

भारतीय सीमा सुरक्षा बलको अवरोधबारे गाउँपालिकालाई पटक–पटक जानकारी गराए पनि सुनुवाइ नभएको चन्दको आरोप छ । ‘डुंगा चलाउनका लागि गाउँपालिकाले अनुमति दिएकोले पटक–पटक गाउँपालिकामा धाएपनि कुनै सुनुवाइ भएको छैन’, उनले गुनासो पोखे, ‘भारतीय प्रशासनको अनुमति म कहाँबाट ल्याऊँ ?’

हल्दु विनायक घाटमा एसएसबीले डुंगा सञ्चालनमा रोक लगाएकोबारे जिल्ला प्रशासन कार्यालयलाई खबर भइसकेको पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्दले बताए । गाउँपालिकाले ठेक्का खोलेका डिम्बर, देवताल, ढोया घाटमा सहजै डुंगा सञ्चालनमा छन् । ‘अन्य घाटमा गाउँपालिकाको अनुमतिले डुंगा सञ्चालनमा छन’, उनले भने, ‘हल्दु विनायक घाटमा अवरोध गरेकोबारे जिल्ला प्रशासन लगायतका माथिल्ला निकायमा खबर गरिसकेका छौँ । तर समस्या समाधान हुन सकेको छैन ।’

हल्दु विनायक घाटमा एसएसबीले डुंगा सञ्चालन गर्न नदिएकोबारे भारतीय सुरक्षा निकायलाई जानकारी गराइसकेको बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिए । ‘डुंगा सञ्चालनमा रोक लगाएकोबारे गाउँपालिकाले हामीलाई जानकारी गराएको थियो, हामीले पिथौरागढका जिल्ला अधिकारीलाई खबर गरिसकेका छौँ’, उनले भने ।

पिथौरागढका सुरक्षा अधिकारीसंग चारपाँचपटक डुंगा सञ्चालनमा रोक लगाएकोबारे कुरा भएको र पत्राचार समेत भएको प्रजिअ पन्थीले बताए । पटक–पटक फोन र पत्रचार गर्दा समेत समस्या समाधान हुन नसकेको अब केही दिनमै सीमा समन्वय बैठकको तयारी छ,त्यसमा पनि कुरा गर्छौँ ।’ महाकाली नदीमा पुल नहुँदा तल्लो स्वराडका नागरिक डुंगामार्फत ओहोरदोहोर गर्ने गरेका छन् । भारतीय बजार नजिक रहेकाले यहाँका नागरिक किनमेलका लागि समेत पारि जान्छन् । तर डुंगा सञ्चालनमा रोक लगाउँदा समस्यामा परेका छन् ।

पुल निर्माणका लागि समेत भारतीय पक्ष सहमत नहुँदा यहाँ पुल बन्न सकेको छैन। तल्लो स्वराड क्षेत्रमा डुंगा सञ्चालन हुने आठ वटा घाट छन् ।