काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो नेतृत्वको सरकार पाँचै वर्ष चल्ने दाबी गरेका छन् । बुधबार काठमाडौंमा आयोजित प्रथम न्यायिक समितिको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो दाबी गरेका हुन् ।

प्रधानमन्त्री प्रचण्डले भने, ‘बालेनजीले आफ्नो कुरा राख्दै गर्दा सरकारको निरन्तरताको कुरा गर्नुभयो । स्थानीय तहको निर्वाचनपछि प्रदेश र संघको निर्वाचन सम्पन्न ग¥यौं । त्यसपछि सरकार निरन्तर एउटै छ । मेरो नेतृत्वमा सरकार छ । मलाई विश्वास छ, यो सरकार पाँच वर्षसम्म जान्छ ।’


उनले सरकार फेरिराख्ने कुरा नहुनेमा विश्वस्त रहन आग्रह गरे । उनले आफूले नै नेतृत्व गरेको आन्दोलनको बलमा तीन तहको सरकार बनेको दाबी गरे । स्थानीय तहको दोस्रो कार्यकालका लागि निर्वाचन सम्पन्न भइसक्दा आफूलाई खुसी लागेको बताउँदै प्रधानमन्त्री प्रचण्डले जग बलियो भयो भने सम्पूर्ण परिवर्तनको प्रक्रिया सुदृढ हुने धारणा राखे ।
स्थानीय तहका जनप्रतिनिधिहरु गम्भीर हुनुपर्नेमा जोड दिँदै उनले स्थानीय तहमा हुने विवाद समाधान र निरुपणका लागि स्थानीय तहकै भूमिका महत्वपूर्ण हुने बताए । न्यायिक समितिमार्फत हुने न्याय निरुपणले सामाजिक एकता र सद्भावमा वृद्धि हुने उनको भनाइ छ ।