धनगढी – मुख्यमन्त्री कमलबहादुर शाहले सुदूरपश्चिम प्रदेशमा लगानी गर्न निजी क्षेत्रलाई आग्रह गरेका छन । उद्योग वाणिज्य महासङ्घ सुदूरपश्चिमको छैटौँ प्रदेश सभाको शनिबार धनगढीमा उद्घाटन गर्दै उनले लगानीका लागि निजी क्षेत्रलाई आग्रह गरेका हुन ।
‘तपाईँहरू आउनुहोस् । सुदूरपश्चिम प्रदेशमा लगानी गर्नुहोस’ उनले भने ‘प्रदेश सरकारले कहाँनेर के सहयोग गर्नुपर्छ, त्यसको लागि हामी तयार छौँ ।’
उनले सुदूरपश्चिमको आर्थिक स्तर उकास्ने र प्रदेशलाई समृद्धितिर लैजाने कार्यमा निजी क्षेत्रको महत्त्वपूर्ण भूमिका रहेको बताए । प्रदेशमा रहेको सम्भावनाको पहिचान निजी क्षेत्रले गरेकाले हातेमालो गरेर अगाडि बढ्न मुख्यमन्त्री शाहको आग्रह थियो । ‘निजी क्षेत्रलाई प्रदेश सरकारले के सहयोग गर्नुपर्छ, त्यो हामी गर्छौ’ उनले भने ।
विश्वभर नै आर्थिक मन्दी भइरहेको बेला प्रदेशमा रहेको साधन, स्रोत सदुपयोग गर्न सुदूरपश्चिम प्रदेश सरकार तत्पर रहेको मुख्यमन्त्रीको भनाइ थियो । उनले कमजोर मनस्थितिले मुलुक अगाडि बढ्न नसक्ने भन्दै भने ‘दृढ इच्छाशक्ति चाहिन्छ। हामीले केही न केही परिवर्तन ल्याउनुपर्छ ।’