दार्चुला – बर्डफ्लु नियन्त्रणका लागि भारतसित सीमा जोडिएका दार्चुलाका नाकामा निगरानी बढाइने भएको छ । भारतसित जिल्लाका दर्जन नाकाबाट बर्डफ्लु भित्रिने सम्भावना रहेकाले निगरानी बढाउन लागिएको हो ।
जिल्ला बर्डफ्लु नियन्त्रण प्राविधिक समितिले सम्भावित जोखिमलाई मध्यनजर गर्दै यसको नियन्त्रणका लागि खुला सीमानाकामा निगरानी बढाउने निर्णय गरेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख रामबहादुर खड्काले बताए ।
उनका अनुसार अहिले भारतसँग जोडिएका जिल्लाका १० वटा नाका सञ्चालनमा छन । ‘केही ठाउँमा तुइन र ट्युबको प्रयोग गरी भारत आवतजावत हुन्छ । यसले बर्डफ्लु भित्रिने सम्भावना हुन्छ’ उनले भने, ‘भारतबाट पन्छीजन्य वस्तु आयातमा प्रतिबन्ध लगाइएको भए पनि लुकिछिपी अवैध रूपमा कुखुरा, चल्ला र अन्डा भित्रिने गरेका छन ।’
सरकारले भारतीय सेतो अन्डा, मासुजन्य पदार्थ आयातमा पूर्ण रोक लगाएको भए पनि लुकिछिपी व्यापार हुने गरेको छ । अन्य रोगभन्दा बर्डफ्लुले मानवीय क्षति बढी गर्ने हुँदा सचेतना अपनाउनुपर्ने खड्काको भनाइ छ ।
बर्डफ्लुको जोखिम भएकाले पन्छी तथा पन्छीजन्य पदार्थ ओसारप्रसार गर्ने सरोकारवाला निकायले उच्च सतर्कता अपनाउनुपर्ने प्राविधिक समितिको जोड छ । सीमा क्षेत्रमा खटिएका सुरक्षाकर्मी र सम्बद्ध निकायले सक्रियता बढाउनुपर्ने बर्डफ्लु नियन्त्रण समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताए ।